एनआरएन कार्यालयमा झडप


काठमाडौं  । 

गैरआवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पराजित र विजयी टिमबीच विवाद भएपछि झडप भएको छ । एमाले नेता महेश बस्नेतसमेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टिम पुगेपछि विवाद र हातपात भएको हो ।

पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके शर्मालाई दुव्र्यवहार गरेको तथा बुद्धि सुवेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएको छ ।

अध्यक्ष बद्री केसीसहित एनआरएन नवनिर्वाचित टिमको स्वागत कार्यक्रममा एमाले नेता बस्नेत सहभागी थिए । दिउँसो दुई बजेतिर आरके शर्माको टिम पनि कार्यालयमा प्रवेश गरेको थियो । पराजित पक्ष निकट स्रोतका अनुसार शर्मालाई युवा संघका कार्यकर्ताले दुव्र्यवहार गरेपछि उहाँ त्यहाँबाट सरासर फर्किनुभएको थियो ।

पराजित पक्षले वाईसीएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि कार्यक्रममा सहभागी युवा संघका कार्यकर्ताले रोक्ने क्रममा विवाद बढेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएपछि एनआरएनए आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुव्र्यवहार र कुटपिट भएको भन्दै प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएको छ ।