शिक्षकको मर्यादाक्रम १९ नम्बरमा

0
Shares

काठमाडौं ।

माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकको मर्यादाक्रम १९ नम्बरमा भएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सो व्यवस्था गरेको हो । विधेयक प्रतिनिधि सभाबाट पारित हुन बाँकी छ । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रपतिले लालमोहर लगाएपछि कानुन बन्नेछ ।

विधेयकमा माध्यमिक तहका द्वितीय श्रेणीका शिक्षकलाई २० नम्बर र तृतीय श्रेणीको शिक्षक मर्यादाक्रमको २१औं नम्बरमा राखिएको छ । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने विषयमा सम्झौता भएको थियो ।

सोही सम्झौताको आधारमा विधेयकमा शिक्षकको मर्यादाक्रम उल्लेख गरेको हो । समितिले सदस्य र विज्ञसहितको सुझाव समेटेर मर्यादासम्बन्धी विधेयक पारित गरेको हो । विधेयकमा गाउँपालिकाको उपाध्यक्षभन्दा मावि प्रथम श्रेणीको शिक्षकको मर्यादाक्रम माथि पारेको छ ।

२०औँ स्थानमा गाउँपालिकाको उपाध्यक्ष, प्रमुख सेनानी, प्रहरी उपरीक्षक, विश्वविद्यालयको उपप्राध्यापक राखिएको छ । यही समूहमा माध्यमिक तहको द्वितीय श्रेणीको शिक्षकलाई राखिएको छ । आधारभूत तहका शिक्षकको मर्यादा भने निर्धारण गरिएको छैन । गृह मन्त्रालयले २०७६ वैशाख २४ गते निर्धारण गरेको मर्यादाक्रममा शिक्षकलाई समेटिएको थिएन । त्यसप्रति शिक्षक महासंघले असन्तुष्टि जनाएको थियो ।