राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदै

0
Shares

काठमाडौं । 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० सांसदको पदावधि आगामी फागुन २० गते सकिने भएको छ । २०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका २० जना राष्ट्रिय सभा सदस्यको कार्यकाल २० फागुनमा सकिन लागेको हो ।

पदावधि चार महिना बाँकी रहेका सांसदमध्ये नेपाली कांग्रेसका मुख्य सचेतक अनिता देवकोटा, संसदीय दलका नेता रमेशजंग रायमाझी, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहनुभएको छ । त्यस्तै नेकपा (एमाले) का प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, खिमलाल भट्टराई, दीपा गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पदावधि पनि चार महिनापछि सकिने भएको छ ।

पदावधि सकिनेको लर्कोमा माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टीका (जसपा) का सांसद एवं शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि रहनुभएको छ । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । सोहीअनुसार निर्वाचन आयोगले आगामी माघ १२ गतेसम्ममा राष्ट्रियसभाको उपनिर्वाचनको मिति तय गरिसक्नुपर्ने छ । यसका लागि आयोगले गृहकार्य अघि बढाएको छ । सरकारसँग छलफल गरेपछि निर्वाचन आयोगले राष्ट्रियसभाको उपनिर्वाचनको मिति तोक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

मिति तोकिसकेपछि आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गर्ने छ । राष्ट्रिय सभाका उपनिर्वाचनमा प्रदेश सभा सदस्य ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २०२५ जना मतदाता रहेका छन् । सत्ता गठबन्धनको सरकार कायमै रहेको आधारमा राष्ट्रियसभाको यसपटकको उपनिर्वाचनमा पनि सत्ता गठबन्धन र नेकपा (एमाले) का बीच मुख्य प्रतिस्पर्धा हुने अत्यधिक सम्भावना रहेको छ ।

राष्ट्रियसभाको उपनिर्वाचनपछि क्रमशः प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गराउने आयोगको योजना रहेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभाको उपनिर्वाचन गराउनुपर्ने छ । आयोगका अनुसार संघीय संसद्तर्फ प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि उहाँ निर्वाचित इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो । यसै गरी सवारी दुर्घटनामा परी प्रदेश सभा सदस्य एवं सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएसँगै उहाँ निर्वाचित बझाङ १ (१) रिक्त भएको आयोगले जनाएको छ ।