मंसिरदेखि ९ सय सफाइ कर्मचारी सडकमा खटिँदै

0
Shares

–३ सय सफाइ कर्मचारी करारमा
–एक वर्ष अवधि, न्यूनतम तलब दिनैपर्ने

 काठमाडौं । 

काठमाडौं महानगरको सडक सफा गर्न मंसिरदेखि ९ सय सफाइ मजदुर खटिने भएका छन् । हाल रहेका ६ सय र मंसिर १ गतेबाट सेवा करारमा आउने ३ सयसमेत गरी ९ सय सफाइ मजदुर सफाइमा खटिन लागेका हुन् । काठमाडौं महानगरले सोमबार ३ सय कर्मचारी बज्र सेक्युरिटी एन्ड कनेक्टर जेभीबाट सेवा करारमा लिने सम्झौता गरेको हो ।

करिब १ हजार ५ सय सफाइ मजदुर रहेको महानगरमा अधिकांश अवकास भएर ६ सय पुगेको थियो । ६ सय मजदुरले मात्र राजधानीको सडक र अन्य संरचना सफा गर्न असम्भव भएपछि थप ३ सय कर्मचारी सेवा करारमा लिएको हो । कामपाका सहप्रवक्ता एवं प्रशासन विभाग निर्देशक दीपक अधिकारीले वातावरण व्यवस्थापन विभागमार्फत ३ सय कर्मचारी कम्पनीमार्फत सेवा करारमा लिएको बताउनुभयो ।

‘प्रतिस्पर्धा रहेका कम्पनीमध्ये बज्र एन्ड जेभीको मजदुर लिने प्रस्ताव स्वीकृत भएपछि सो संस्थासँग सोमबार सम्झौता गरेका हौं’ –सहप्रवक्ता अधिकारीले भन्नुभयो । हामीले २०६४ सालदेखि सफाइ कर्मचारी भर्ना गरेका छैनौं, प्रक्रिया पूरा गर्न समय लाग्ने र बढी झन्झटिलो हुने भएपछि सेवा करारमा लिएको सहप्रवक्ता अधिकारीको भनाइ छ ।
कामपा वातावरण व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले छनोटमा परेको कम्पनीले ८ घण्टा काममा लगाउने गरी कर्मचारी उपलब्ध गराउन सम्झौता भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘श्रम ऐनले तोकेअनुसार मासिक तलब भुक्तानी गर्ने गरी सम्झौता गरेका हौं ।’

श्रम ऐनअनुसार दैनिक आठ घण्टा काम गरेबापत २१ हजार ४ सय ५६ रुपियाँ तलब पाउने व्यवस्था छ । सोही ऐनको आधारमा कामपाले ८ घण्टासम्म काम गर्ने गरी कम्पनीमार्फत करारमा कर्मचारी लिएको जनाएको छ । विभागीय प्रमुख श्रेष्ठले पहिलो चरणमा १ वर्षका लागि सेवा करार सम्झौता गरेको जानकारी दिनुभयो । सो बापत कामपाले मजदुर उपलब्ध गराउने कर्मचारीलाई ८ करोड ६ लाख रुपियाँ भुक्तानी गर्नेछ । ती कर्मचारीले पोसाकबापत १० हजार रुपियाँ पाउनेछन् । सफाइ कर्मचारीको चरम अभाव भएपछि कामपाले कम्पनीमार्फत करारमा कर्मचारी लिन बाध्य भएको हो ।

विभागका अनुसार राजधानीको सबै सडक सफाइ गर्न करिब ३ हजार कर्मचारी आवश्यक पर्छ । विभागले १ किलोमिटर सडकमा २ जना सफाइ कर्मचारी परिचालन गर्ने गरी तथ्यांक तयार गरेको हो । कामपको स्वामित्वमाा १५ सय किमि सडक पर्छ । कर्मचारीको अभाव र स्थायी कर्मचारी लिँदा कार्यालयलाई विभिन्न भार पर्ने भएपछि सेवा करार गर्न थालेको हो । हाल कामपाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय युवा परिचालन गरी राजधानी सफा गरिरहेको छ । मंसिर १ गतेबाट ३ सय कर्मचारी परिचालन हुने भएपछि महानगरको सडक पूर्ण रुपमा चिल्लो र सफा हुने दाबी वातावरण विभागको छ ।