अन्नपूर्ण बेस क्याम्पमा गुटेरेसको स्वागतका लागि तीव्र तयारी


कास्की ।

नेपाल भ्रमणका रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि अन्नपूर्ण बेस क्याम्पमा तयारी तिब्र गरिएको छ । गुटेरेस मंगलबार बिहान साढ़े ६ बजे जलवायु परिवर्तनको असरबारे बुझ्न हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर जाने छन् ।

सन् १९५० जुन ३ मा माउरिस हार्जोगले पहिलोपटक आरोहण गरेर खुला भएको अन्नपूर्णमा अहिले मानवीय क्रियाकलापका कारण देखिएको परिवर्तन हेर्न गुटरेस त्यहाँ जान लागेका हुन् । त्यहाँ उनले आधा घण्टा बिताउने छन् । मंगलबार नै उनी पोखरा फर्केर लुम्बिनी जाने कार्यक्रम रहेकोछ ।

गुटेरेसको स्वागतका लागि अन्नपूर्ण गाउँपालिकाले स्थानीय गुरुङ संस्कृति अनुसार स्वागत गर्न लागेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले बताए । गुटेरेसको भ्रमण साथै कार्यक्रमको तयारी र व्यवस्थापनसँगै स्वागतको लागि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी र अन्नपूर्ण(११ का वडाध्यक्ष हिम बहादुर गुरुङ आईतवार नै अन्नपूर्ण बेस क्याम्प पुगिसकेका छन् ।

आन्तरिक सुरक्षाका लागि नेपाली सेनाको श्री नारायणदल गणका क्याप्टेन बाबारप्रताप शाह नेतृत्वको सेनाको टोली र जिल्ला प्रहरी कार्यलय कास्कीबाट प्रहरी इन्सपेक्टर भुवन बराम नेतृत्वको प्रहरी टोली व्यवस्थापनको कार्यसँगै स्वागतको तयारी गरिरहेको पालिकाका प्रवक्ता भरतमान गुरूङले बताए ।

स्थानीय व्यवस्थापनको पूरै जिम्मा छोम्रोङ पर्यटन व्यवस्थापन समितिलाई दिइएको छ । तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष जगनरास गुरुङले जानकारी दिए । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविर जुन संसारभर परिचित पदयात्रा पर्यटन गन्तव्य हो ।

आइतवार सुरक्षा निकायले पोखरा विमानस्थलदेखि फिस्टेल लजसम्म गुटेरेसको सुरक्षाको पूर्वाभ्यास गरेका छन् भने अन्नपूर्ण आधार शिविरमा शुक्रवार नै जनप्रतिनिधि र नेपाली सेनाको टोली पुगिसकेको छन् । उनी सोमबार काठमाडौंबाट हेलिकोप्टरमार्फत पोखराको पुरानो विमानस्थलमा ओर्लिएर बैदामस्थित फिस्टेल लज पुग्नेछन् । उनलाई पोखरामा तीनै तहको सरकार र पर्यटन व्यवसायीले सोमवार स्वागत गर्ने तयारी छ । अन्नपूर्ण आधार शिविरमा १ वटा मात्र हेलिप्याड रहेकोमा महासचिवको भ्रमणलाई सहज बनाउन थप २ वटा हेलिप्याड निर्माण गरिएको छ ।