कार्यशैली नसच्चिए मार्गप्रशस्त गर्न दबाब

सरकारप्रति कांग्रेसइतर समूहको असन्तुष्टि

0
Shares

 काठमाडौं । 

वर्तमान आठ दलीय गठबन्धनको सरकारको कार्यशैली र गतिविधि नसच्चिए मार्गप्रशस्त गर्न सरकारकै प्रमुख सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले दबाब दिन थालेका छन् । कोशी प्रदेश सरकार गठनमा सत्ता गठबन्धनको केन्द्रस्तरीय निर्णय अस्वीकार गरेको नेपाली कांग्रेस संस्थापनइतर समूहले सरकारलाई यस्तो दबाब दिँदै आएको हो ।

कांग्रेस नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन दिनका लागि प्रदेशसँगै संघीय सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने दोहो¥याउँदै आउनुभएको छ । तर, संस्थापनतर्फका नेताहरू यस विषयमा मौन छन् । प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका मन्त्रीहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका नेता कोइरालाले देशको अवस्था झन्झन् भयावह बन्दै गएकाले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषयलाई आफ्नो मूल एजेन्डा बनाउनुभएको हो ।

‘देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र आर्थिक अवस्था कमजोर हुँदै गएको छ’, नेता कोइरालाले नेपाल समाचारपत्रलाई प्रतिक्रिया दिँदै भन्नुभयो– ‘वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्नुपर्ने अवस्था आइसकेको छ । आर्थिक रूपमा समस्या थपिँदै गएको छ । देशमा रोजगारी नभएकाले हजारौं युवाहरू विदेशिनुपर्ने बाध्यता रहेको छ ।’

सुशासन दिन्छु भनेर बनेको वर्तमान सरकारको ध्यान भ्रष्टाचारमा केन्द्रित रहेको आरोप लगाउँदै उहाँले देशका आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताउनुभयो । ‘प्रधानमन्त्रीले नै २०८४ मा मलाई भोट देऊ, माओवादीलाई जिताऊ म जातीय राज्य दिन्छु भन्नुहुन्छ । लाग्छ उहाँले खल्तीबाट राज्य निकालेर दिने हो । त्यस्तै, गैरजिम्मेवार, अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु, नेपालीहरूका लागि दुर्भाग्य हो । त्यसैले, यो सरकार सच्चिनुपर्छ । सच्चिन सक्दैन भने छोड्नुपर्छ’ –कोइरालाले भन्नुभयो ।

तर, सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले सरकारले अघिल्ला सरकारहरूभन्दा निकै राम्रा कामहरू गरेको दाबी गर्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘माओवादी नेतृत्वको गठबन्धनको सरकारले केही जनतालाई आशा जगाउने कामहरू गरेको छ । सुन काण्ड, ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको काम स्वागतयोग्य छ ।’ यो सरकार साविकका सरकारहरूभन्दा सुशासन र जनजीविकाका सवालमा सफल नै देखिएकाले स्वच्छ आलोचनासहित केही समय काम गर्ने अवसर दिनुपर्ने उहाँले बताउनुभयो ।

तर, नेपाली कांग्रेसका केही नेताहरूले सरकारले भ्रष्टाचारका काण्डहरूमा आफ्ना नेताहरूलाई जोगाएर कांग्रेसका कतिपय निर्दोष व्यक्तिहरूलाई फसाएर जिकिर गरेका छन् । सरकारका कतिपय गतिविधि आलोचना योग्य भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताउनुभयो । जनताका अपेक्षा र सरकारका प्रतिबद्धताअनुरूप काम गर्न नसकेको टिप्पणी गर्दै सहमहामन्त्री परियारले भन्नुभयो– ‘सरकारले आफ्ना गतिविधिहरूमा व्यापक सुधार गर्दै सच्चिएर जानुपर्छ नत्र सरकारको नेतृत्वबाट मार्गप्रशस्त गर्न सक्नुपर्छ ।

हामी सरकार परिवर्तन नै गरिहाल्नुपर्छ भन्ने पक्षमा हैनौं तर, जनभावनामाथि खेलवाड गर्ने छुट यो सरकारलाई छैन् । जनताका गुनासाहरू सम्बोधन हुने गरी सुशासनका पक्षमा, विकास र समृद्धि पक्षमा र देशको आर्थिक अवस्था सुधारका पक्षमा काम गर्ने गरी सरकारका नियमित क्रियाकलापमा परिवर्तन हुनुपर्छ भन्ने हाम्रो दबाब हो ।’ सरकारमा रहेका दलहरूबाट जनताले राहत महसुस गर्न नसक्दा विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने उहाँको धारणा छ ।

नेता डा. शेखर कोइरालाले पनि प्रधानमन्त्रीका प्रचण्डबाट हुने गरेका जातीय–धार्मिक र साम्प्रदायिक द्वन्द्व उत्पन्न हुने खालका अभिव्यक्ति तथा सरकारका मन्त्रीहरूका गतिविधिका बारेमा टिप्पणी गर्नुभएको उहाँले बताउनुभयो । गत मंसिर ४ मा भएको आम निर्वाचन अघिदेखि गठबन्धन गरेका कांग्रेस–माओवादी केन्द्र, नेकपा एससहित आठ दल वर्तमान सरकारमा सामेल छन् ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र सरकारको विषयमा मतैक्यता छैन । सरकार परिवर्तन र कांग्रेसकै नेतृत्वमा सरकार गठनको एजेन्डा लिएका नेता शेखर कोइराला पक्षकै केन्द्रीय सदस्य मधु आचार्यले भने सरकार परिवर्तन गरेर झन् अस्थिरता निम्त्याउन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरूसमेतको कार्यशैली र गतिविधिहरू सुधार जरुरी छ । सरकार परिवर्तनको कुरालाई भन्दा पनि सरकारको कार्यशैली परिवर्तनको कुरा मुख्य हो ।’