माछापुच्छ्रे पदमार्गमा पर्यटकका लागि शुल्क लिइने


 पोखरा । 

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाअन्तरगत पर्ने पदमार्गमा जाने पर्यटकका लागि शुल्क लिने भएको छ । पालिकाअन्तरगत पर्ने पदमार्गमा पर्यटकको व्यवस्थापनका लागि शुल्कसमेत तोकेको छ । पर्यटकीय पदमार्ग स्तरोन्नति तथा व्यवस्थापनका लागि भनेर शुल्क निर्धारण गरेको कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाले शनिबार सूचना जारी गर्दै आन्तरिक पर्यटकका लागि १ सय र बाह्य पर्यटकका लागि ५ सय रुपियाँ शुल्क तोकेको छ । सूचनामा भनिएको छ– ‘यस माछापुच्छ्रे गाउँपालिकाका सुन्दर पर्यटकीय पदमार्गहरु भ्रमणमा पाल्नुहुने आन्तरिक तथा बाह्य पर्यटकहरुको सुविधालाई ध्यानमा राखी गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोरमैला व्यवस्थापनलगायतका सुविधाहरु निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गाउँसभाको निर्णयानुसार निम्नानुसारको पर्यटन सेवा शुल्क लिने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पालिकाले यसै सातादेखि शुल्क लिने निर्णय गरेको छ । पर्यटन व्यवसायी तथा वडा अध्यक्षसमेत रहनुभएका राम गुरुङले पालिकामा रहेका होमस्टेमा आउने पर्यटकका लागि भने कुनै शुल्क नलाग्ने बताउनुभयो । ‘पालिकाले टे«किङ आउने पर्यटकका लागि मात्रै शुल्क लिनेछ । यो गाउँपालिकाका होमस्टेमा आउने पर्यटकका लागि भने कुनै शुल्क लाग्दैन’, उहाँले भन्नुभयो– ‘यसै सातादेखि शुल्क उठाउन शुरु गर्छै । पदमार्गको व्यवस्थापनका लागि शुल्क उठाउने निर्णय भएको हो ।’

शुल्क उठाउन थालेपछि पालिकामा आन्तरिक तथा बाह्य पर्यटक कति भित्रिए भन्ने यकिन तथ्यांक आउने उहाँको भनाइ छ । हालसम्म के कति संख्यामा आए भन्ने वास्तविक तथ्यांक निकाल्न मुस्किल भए पनि पदमार्गलाई व्यवस्थापन गर्दा वास्तविक तथ्यांकसमेत आउने हुनाले शुल्क निर्धारणले धेरै सहज हुने विश्वास पालिकाले लिएको उहाँले बताउनुभयो । ‘मर्दी हिमाल उक्लिने हुमाल (लो–क्याम्प) मा मानव संशाधन प्रयोग गरेर शुल्क उठाउन शुरु गर्छौं’, उहाँले भन्नुभयो– ‘यसै आर्थिक वर्षको सुरुवातबाटै लिने तयारी गरेका थियौं तर आन्तरिक छलफलबाट निर्णयमा ढिला भयो ।’

माछापुच्छ्रे गाउँपालिकाको पदयात्रा मार्गमा आउने पर्यटकमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत मात्रै बाह्य पर्यटक रहेको उहाँको भनाइ छ । उहाँका अनुसार माछापुच्छ्रे गाउँपालिकामा छोटो पदयात्राका लागि उत्कृष्ट गन्तव्यहरु रहेका छन् । पोखराबाट छोटो दूरीमा रहेको गाउँपालिकामा विशेष गरी मर्दी हिमाल जाने पर्यटकहरु आउने गर्छन् । पछिल्लो समय खुमै डाँडा हुँदै कोर्चातर्फसमेत पर्यटकको आकर्षण बढ्न थालेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा चार पदयात्रा मार्ग रहेका छन् । चारमध्ये दुई पदयात्राका लागि चर्चामा रहे पनि बाँकी दुईमध्ये एकमा पर्यटक पुगे पनि चर्चामा छैन् अर्को भने प्रवद्र्धन गर्नुपर्ने अवस्थामा छ ।
माछापुच्छ्रे गाउँपालिकाको मर्दी हिमाल, ग्रेट माछापुच्छ्रे ट्रेल, घलेखर्क–ताराहिल पदयात्रा मार्ग र टान मोडेल ट्रेक रहेको छ । टान मोडेल भने अहिले पर्यटकको रोजाइ बन्न सकिरहेको छैन् । मर्दी हिमाल पदयात्रामा जाने पर्यटकहरु बाटो बिराउँदा हराउने हुँदा उद्धारका लागि टोली बनाउने उहाँ बताउनुहुन्छ । गाउँपालिकाले चलनचल्तीसँगै घलेखर्क–ताराहिल (३२०० मिटर) हँुदै मादी गाउँपालिकाको सिक्लेस जोड्ने पदयात्रा मार्ग प्रवद्र्धनको अभियानमा रहेको गुरुङले बताउनुभयो ।