उपत्यकामा दशैं शान्तिपूर्ण, छठसम्मै सुरक्षा व्यवस्था चुस्त बनाइने

0
Shares

काठमाडौं । 

उपत्यकाका तीन जिल्लामा यसपालिको दशैं शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । छिटफुट घटनाबाहेक यसपटकको दशैं शान्त वातावरणमा सम्पन्न भएको सुरक्षा निकायको तथ्यांकले देखाएको छ ।

विगतका वर्षका तुलनामा दशैं शान्तिपूर्ण भएको र कुनै ठूला घटना, दुर्घटना नभएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । फूलपाती यता शनिबारसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी, डकैती तथा दुर्घटना नभएको सो कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुरक्षाका हिसाबले यसपालिको दशैं विगतका वर्षमा भन्दा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
उपत्यकाका तीन जिल्लामा चाडबाड विशेष सुरक्षा योजना तयार पारी निगरानी गरिएको र सम्भावित जोखिम क्षेत्रमा प्रहरी परिचालन गरिएको कारण यसपटकको दशैं शान्तपूर्वक सम्पन्न भएको हो ।

राजधानीको शान्ति सुरक्षा मजबुत बनाउन तालिम प्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर तीनै जिल्लामा सुरक्षा निगरानी बढाएको एसएसपी मैनालीले जानकारी दिनुभयो । प्रवक्ता मैनालीले भन्नुभयो– ‘सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी राखिएको थिएन । सादा पोसाकमा पनि प्रहरी परिचालन गरेर सूक्ष्म निगरानी गरिएको थियो भने सुरक्षा निगरानीका लागि ड्रोन र कुकुरको समेत प्रयोग गरिएको थियो । यस अवधिमा उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बन्यो । अब छठसम्मै यसलाई निरन्तरता दिने योजना रहेको छ ।’

यद्यपि, कडा सुरक्षाका बीच पनि छिटफुट घटना भने भएका छन् । फूलपातीदेखि शनिबार बिहानसम्ममा उपत्यकामा १ सय ३ वटा घटना भएका छन् । ती घटनामा परेर २ जनाको मृत्यु भएको छ भने १ सय १८ जना घाइते भएको मैनालीले जानकारी दिनुभयो ।

यसबीचमा २० वटा सवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । सवारी साधनहरु आपसमा ठक्कर खाएर ५१ वटा दुर्घटना भएको थियो । उक्त दुर्घटनमा ७३ जना घाइते भएका थिए भने १ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार कुटपिट र झैंझगडाका १३ घटनामा १ को मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । चोरीका १० र धारिलो हतियार प्रहारसम्बन्धी दुईवटा घटना भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । जुवा तासको खालबाट काठमाडौंबाट ७, ललितपुरबाट १३ र भक्तपुरबाट २ गरी २२ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ५ लाख नगद बरामद गरिएको छ ।