जुनारका दानामा पुतलीको प्रकोप

 उत्पादन घट्ने अनुमान 

28
Shares

रामेछाप । 

रामेछापका जुनार कृषकको बगैँचामा चुसाहा मोथ जातको पुतलीको प्रकोप देखिएको छ । जुनारका दानामा पुतलीले चुस्ने र पहेँलो हुँदै जुनार झर्न थाले पछि कृषकहरू चिन्तित भएका हुन् ।

चुसाहा मोथ जातको पुतलीको प्रकोपका कारण यो वर्ष जुनार उत्पादनमा कमी आउन सक्ने कृषि प्रविधिकहरु अनुमान गरेका छन् । यो प्रकोप रामेछापमा सुरुको चरणमा रहेको र यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने उत्पादनमा गिरावट आउने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकी नायव प्राविधिक सहायक भवानी बस्नेतले  बताइन्  ।

छिमेकी जिल्ला सिन्धुलीमा समेत यसको प्रकोप रहेका थियो । त्यहाँ भएको क्षति अवस्थालाई मध्यनजर गर्ने हो भने गत वर्ष भन्दा यस वर्ष जुनारको उत्पादन झण्डैँ २५ प्रतिशतको जुनार र सुन्तलाको फललाइ नोक्सान पुग्न सक्ने बस्नेतले बताइन्  । तर रामेछापमा संभावित सबै क्षेत्र र जुनार जोन लागू भएको स्थानका स्थानिय तहका प्राबिधिक ,सरोकारवालाहरू तथा  सुन्तलाजात फलफूल खेती गर्ने कृषकको बगैंचामा नै गई चुसाहा मोथ पुतलीको पहिचान, क्षति तथा व्यवस्थापनका विषयमा जानकारी दिई कृषकहरू पनि व्यवस्थापनमा लागेको हुनाले क्षति कम गर्न सकिने उनले बताइन् ।

 रामेछापमा पहिलो पटक २०८० असोज ९ गते जुनार बगैँचामा यो रोग रहेको पत्ता लागेको थियो । मन्थली नगरपालिका १३ फुलासीका रन्तवती श्रेष्ठको बगैँचामा पहिलो पटक पुतली भेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापकाकी नायव सहायक प्राविधिक बस्नेतले बताइन् । अहिले बढी मात्रामा जुनारमा यो पुतलीको प्रकोप देखिए पनि यसले सुन्तला कागती निबुवा जस्ता अमिलो जातका फलफूल क्षति गर्ने सभ्भावन रहेको बस्नेतले बताइन्  ।

यो समाचार तयार गर्दा सम्म मन्थली नगरपालिकाको वडा नं ४ सालु, १३ फुलासी, १४ फुलासी, ९ पुरानागाउँ, रामेछाप नगरपालिकाको वडा नं १ गोठगाउँ, ४ हिमगंगा, ५ रामपुर, ओखरेनी ६, सुकाजोरका र ८ बावियाखर्कका कृषकको जुनार प्रकोपबाट बढी प्रभावित भएका थिए ।

प्राविधिक सहायक भवानी बस्नेतले प्रकोप न्यूनीकरणका लागि प्रभावित बगैँचामा साँझ पाखा भुस जलाउने, गाई र भैँसीको पिसाब छर्कने, साँझको बेला चम्किलो बत्तीहरू प्रयोग गर्दा यो रोग न्यूनीकरण गर्न सहयोग पुग्ने उनले  बताइन् ।

रामेछाप जिल्लामा ११सय ५० हेक्टर भन्दा बढी जुनार खेती हुने गरेका छ जसमध्ये ५ सय ३० हेक्टर प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत पर्छन् । अघिल्लो वर्ष रामेछापमा ३ हजार ७ सय १० मेट्रिकटन जुनार उत्पादन भएको थियो ।