लुम्बिनी प्रदेशको ५४ स्थानमा नागरिक सहायता कक्ष  



बुटवल ।

चाडपर्वलाई लक्षित गरी लुम्बिनी प्रदेशको १२ जिल्लाका ५४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । दसैं लगायतका पर्वहरु नजिकिँदै गर्दा नेपाल आउने पर्यटक, भारत लगायतका मुलुकबाट रोजगारी गरेर फर्कने नेपाली र मुलुकभित्रै विभिन्न ठाउँमा आउजाउ गर्ने सर्वसाधारणलाई लक्षित गरी नागरिक सहायता कक्ष स्थापना गरिएको हो  ।

बुटवल र बेलहीयामा स्थापन गरिएको नागरिक सहायता कक्ष को बिहीबार एक विशेष कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।चाडपर्व मनाउन गन्तव्यमा जाने यात्रुहरुलाई पर्ने समस्या समाधानका लागि बसपार्कमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।बुटवलको सहायता कक्षको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गदै सवारी चालकहरुले आफ्नो उत्तरदायित्व सम्झेर सवारी चलाउन आग्रह गरे ।

त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई शुष्म ढंगले अध्ययन गरी त्यसको निवारणमा लाग्न सवै प्रहरी युनिटहरुलाई आग्रह गरे । मानिसहरुको बढी भिडभाड हुने क्षेत्रमा नै आपराधिक गतिविधि बढ्न सक्ने भन्दै  जनताको सेवामा सुरक्षाकर्मी दत्तचित्त भएर लाग्नुपर्ने बताए।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक कृष्ण पछाईले यात्रुहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा ५४ वटा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रा।लीका अध्यक्ष दधिराम खरेल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा लगायतले बोल्दै दुर्घटना न्यूनीकरणका लागि सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताए ।
जिल्ला प्रशासन, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको पहलमा प्रदेशभर सहायता कक्ष स्थापना गरिएको हो ।

सीमा क्षेत्रका सहायता कक्षमा पहिलोपटक स्वास्थ्य जाँचदेखि औषधिसम्म एकीकृत सेवा प्रदान गरिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणसहित आमगरिकलाई सहयोग पुग्ने रुपन्देहीको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्वास्थ्यकर्मी नियमित खटिने छन् । चालक र सह–चालकको दैनिकरुपमा र यात्रु, पर्यटक सर्वसाधारणको आवश्यकताका आधारमा स्वास्थ्य जाँच गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्