प्रसाद–२ का निर्माताबीचको लेनदेन विवादमा

ओएसआरका सञ्चालक पक्राउपछि रिहा, निर्देशक र सम्पादकविद्ध पुर्जी जारी



फिल्म निर्माणदेखि नै लेनदेन लगायतको विवादमा फसेको प्रसाद–२ का निर्माताबीचको लेनदेन विवादको चपेटामा त्यसको डिजिटल अधिकार खरिद गर्ने कम्पनी ओएसआरका सञ्चालक ओम अग्रवाल पक्राउपछि रिहा भएका छन्।

सोही फिल्मको लेनदेनका सम्बन्धमा धम्की आएको भन्दै उजुरी गर्न पुगेका उनलाई प्रहरीले पक्राउ पुर्जी देखाएर शुक्रबार पक्राउ गरी आइतबार साँझ रिहा गरेको छ। सरकारी वकिल कार्यालयको सहमतिपछि अग्रवाल जिम्मा जमानीमा रिहा भएका हुन्। अग्रवाललाई प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि पक्राउ गरिएको थियो। प्रसाद–२ को तत्कालीन निर्माण कम्पनी सुभाष थापा प्रोडक्सन प्रालिका सुभाष थापा र ओसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालिका अध्यक्ष ओम अग्रवालबीच फिल्मको सार्वजनिक प्रदर्शन र च्यारिटी शो बाहेकको सम्पूर्ण डिजिटल र अन्य प्रविधिबाट हुने प्रदर्शन अधिकार ओएसआरको रहने र त्यसवापत अग्रवालले थापालाई भ्याटसहित एकमुष्ट ३२ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएअनुसार उनले भुक्तानी गर्दै आएका थिए।

फिल्म निर्माणकै बेलामा विवाद भएपछि केशव पाण्डे निर्माताको रूपमा भित्रिएका थिए भने विवादकै कारण पाण्डेले फिल्म छोडेपछि थापाले सुदर्शन बस्नेतलाई नयाँ निर्माताको रूपमा भित्र्याएका थिए। हिसाबकिताब गर्ने क्रममा थापा र बस्नेतबीच नै विवाद भएको थियो भने प्रोमो युट्युबमा रिलिज गरिएपछि बस्नेतले अग्रवालविरुद्ध जाहेरी दिएका थिए। पार्टनरबीचको विवादमा तेस्रो पक्षलाई मुछ्दा आफू समस्यामा परेको अग्रवालको भनाइ छ। केही महिनाअघि लेनदेन विवादमा पक्राउ पुर्जी जारी भएपछि निर्माता सुभाष थापा सम्पर्कविहीन छन्। यता निर्माता बस्नेतकै उजुरीमा प्रसाद–२ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ।

यसअघि, निर्माता निर्देशक सुदर्शन थापाले आप्mनो निर्माणाधीन फिल्म मायावीका लागि १० लाख रुपियाँ पेस्की लिएर छायांकन गर्न नमानेको आरोपमा उजुरी दिएपछि नायक अनमोल केसी पक्राउ परेका थिए। केसी तीन दिन अस्पताल बसेर रिहाइ भइसकेका छन् भने उनले प्रहरीमार्पmत् पेश्की रकम पनि फिर्ता गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्