एक्याप कार्यालय अझै बन्द



लमजुङ । लमजुङमा पर्यटन व्यवसाय चलायमान बने पनि पर्यटन सेवा प्रदायक संस्था टिम्स पुनःस्थापित हुन नसकेको पाइएको छ । विश्वव्यापी कोभिड–१९ का कारण पर्यटन व्यवसाय प्रभावित बनेपछि बन्द भएको टिम्सको कार्यालय पुनः सुचारु हुन नसकेको हो ।

पछिल्लो समय अन्नपूर्ण पदमार्गमा आएका बाह्य पर्यटकका लागि टिम्स र नेपाली सहयोगी अनिवार्य भने पनि टिम्सको कार्यालय हालसम्म सञ्चालनमा आएको छैन । जिल्लामा ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले पर्यटनसम्बन्धी सेवा प्रवाह गर्दै आएका थिए । तर, वर्ष २०२० देखि टिम्सको कार्यालय पूर्णरूपमा बन्द भएको थियो भने एक्यापले भने एउटामात्रै कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ ।

कोभिडको प्रभावसँगै जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटक जाँच केन्द्र एक्याप र टानले पर्यटकको आगमन कमी हुन थालेपछि कार्यालयनै बन्द गराएका थिए । एक्यापले जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९ खुदी र घलेगाउँको पर्यटक चेकपोस्ट कार्यालय बन्द गरेको थियो भने टानले सदरमुकाम बेंसीशहरमा स्थापना गरेको पर्यटक सूचना व्यवस्था प्रणाली टिम्सको कार्यालय बन्द गरेको थियो ।

टानको एकमात्र कार्यालय पूर्णरूपमा बन्द भएको छ भने एक्यापले जिल्लाको दुईवटा कार्यालय बन्द गरी इलाका कार्यालय भुजुङ र सदरमुकाम बेंसीशहरमा मात्रै कार्यालय सञ्चालन गर्दै आएको छ । एक्यापका अनुसार विस्थापित दुईवटा कार्यालय पुनः सञ्चालनको तयारी भएको छ । आवश्यक अध्ययन र तयारी गरी घलेगाउँ र भुलभुलेमा दुईवटै कार्यालय पुनः सञ्चालनको तयारी भएको एक्यापका पर्यटन सहायक बाला घलेले जानकारी दिनुभयो ।

जिल्लामा टानले टिम्समार्फत विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग र अन्य जिल्ला भित्रिएका र जिल्लाबाट बाहिरिने पदयात्री पर्यटकको सूचना तथा तथ्यांक संकलन गर्दै आएको थियो । यता, एक्यापले भने अन्नपूर्ण संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुलाई अनुमति दिने र उनीहरुको तथ्यांक राख्दै आएको छ ।

टान र एक्याप दुवै संस्थाले संस्थाको प्रावधानबमोजिम पर्यटकबाट शुल्क उठाएर सरकारलाई राजस्व बुझाउने सोही रकमको केही हिस्साबाट कार्यालय व्यवस्थापन गर्दै आएका थिए । पर्यटक आगमन ठप्प भएसँगै दुवै संस्थाहरुको नियमित आर्थिक संकलन कार्य पनि रोकिनुका साथै कार्यालय र कर्मचारी व्यवस्थापनमा पनि समस्या भएपछि कार्यालय विस्थापित भएको थियो ।

हाल एक्यापले सदरमुकाम बेसीशहरको कार्यालयबाट साविक जस्तै पर्यटकहरुलाई अनुमती पत्र प्रदान गर्दै आएको छ । बेसीशहरस्थित टिम्सको कार्यालय विस्थापित भएपछि अन्नपुर्ण पदमार्गअन्तर्गत मनाङमा मात्रै पर्यटक जाँच हुने गरेको छ ।

वर्षमा कम्तीमा दुई सिजन बाह्य पर्यटकको चाप रहने लमजुङमा हाल पर्यटकीय चहलपहल बढेको छ । पर्यटकहरुको आगमन भए पनि अपेक्षित पर्यटकको आगमन भने अझै हुन नसकेको पर्यटन व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्