सिटीको शतप्रतिशत विजयी यात्रामा विश्राम



लन्डन, (एजेन्सी) । प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा अप्रत्यासित रुपमा म्यानचेस्टर सिटीले हार बेहो¥यो । सिटीलाई वोल्भस्ले २–१ ले स्तब्ध तुल्याएको हो । यो हारसँगै सिटीको यस सिजनको लिगमा शत प्रतिशत विजयी यात्रामा पनि विश्राम लाग्यो । सिटीले शुरुवाती लगातार ६ खेल जितेको थियो । तर, सातौं खेलमा पराजित भए पनि सिटी अंकतालिकामा १८ अंकसहित शीर्ष स्थानमै रहेको छ ।

तर, यसपछि भएको खेलमा लिभरपुलको लागि शीर्ष स्थानमा आउने मौका थियो । तर, यो मौका लिभरपुलले लिन सकेन । लिभरपुललाई टोटनहामले २–१ ले पराजित गरेको थियो । लिभरपुलको यस खेल अघि १६ अंक थियो । लिभरपुलको लागि यो खेल जितेर १९ अंक लिएर शीर्ष स्थानमा आउने मौका थियो । तर, लिभरपुलले पुरै तीन अंक गुमाउँदा चौथो स्थानमा रह्यो ।

टोटनहाम जितसँगै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । टोटनहामको १७ अंक छ । यस्तै १७ अंक जोडेको आर्सनल तेस्रो स्थानमा रहेको छ । आर्सनलले बर्नमाउथलाई ४–० ले पराजित गर्दै च्याम्पियन सिटीसँग १ अंकको दुरी बनाएको छ ।

बायर्नले हार टा¥यो

टोटनहामका पूर्व खेलाडी हेरी केनको प्रेरणामा बायर्न म्युनिखले आरबी लीपजिगविरुद्ध हार टारेको छ । बुन्डेसलिगाअन्तर्गत शनिबार भएको खेलमा लीपजिगले ६ मिनेटमा दुई गोल गरेर बायर्नलाई २–० ले पछि पारेको थियो । तर, केनले ५७ औं र लेरोए सानेले ७० औ मिनेटमा गोल परेपछि यो खेल २–२ बराबरीमा सकिएको थियो । केनको यो आठौं बुन्डेसलिगा गोल हो भने समग्रमा क्लबका लागि नवौं गोल थियो ।

योसँगै बायर्न १४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । यस्तै लिपजीग पाँचौं स्थानमा छ । बायर लिभरक्युसेन शीर्ष स्थानमा रहेको छ ।

गोलकीपर अचेत

डचको शीर्ष लिगमा गोलकीपर एटीने भाएसेन अचेत भएपछि आरकेसी वालवियक र आयक्सबिचको खेल स्थगित भएको छ । शनिबार आरकेसीका गोलकीपर आयक्स फरवार्ड ब्रायन ब्रोबीसँग जुधेका थिए । ८४ औं मिनेटमा सो घटना भएपछि खेलाडीले आँसुसहित सहयोग माँगेका थिए । भाएसेनलाई मैदानमा उपचार गरिएको थियो ।

आरकेसीले बतायो—स्वास्थ्य परीक्षण गरेपछि उनमा चेतना आएको छ । उनलाई थप परीक्षणका लागि अस्पतालमा लगिएको छ । हामीहरु ज्यादै चिन्तित छौ । उनको मुटुमा कुनै समस्या देखिएको छैन । उनमा चेतना त आयो तर, कहाँ छ भनेर उनले थाहा पाएका छैनन् ।

रियल शीर्षमा

ला लिगाअन्तर्गत खेलमा रियल मेड्रिडले जिरोनामाथि ३–० ले हराउँदै शीर्ष स्थानमा उक्लियो । यो जितमा जुडे बेलिंगामले सिजनको व्यक्तिगत सातौं गोल समेत गरेका थिए । अन्य दुई गोल जोसेलु र औरेलिएन चउमेनीले पहिलो हाफमा गरेका थिए । यो नतिजासँगै रियल अंकतालिकामा २१ अंकसहित शीर्ष स्थानमा पुगेको हो । बार्सिलोना एक अंकले पछि पर्दै दोस्रो र जिरोना तेस्रो स्थानमा झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्