ओलीको ह्याट्रिकमा भिल्लाको जित



लन्डन, (एजेन्सी) । ओली वाटकिन्सले सिजनमा उनको दोस्रो ह्याट्रिक गर्दा प्रिमियर लिगअन्तर्गत खेलमा एस्टन भिल्लाले शानदार जित हासिल गरेको छ । शनिबार भिल्ला पार्कमा भएको खेलमा भिल्लाले ब्राइटनमाथि ६–१ को जित निकालेको हो ।

ओलीले सात मिनेटमा दुई गोल गर्दै टोलीलाई शानदार शुरुवात दिलाएका थिए । उनले १४ औं र २१ औं मिनेटमा गोल गरेका थिए । २६ औं मिनेटमा आत्मघाती गोलबाट भिल्ला पहिलो हाफमा ३–० को अग्रतामा पुगेको थियो । यो नतिजापछि भिल्ला र ब्राइटनको समान १५÷१५ अंक भएको छ ।

ब्राइटनका लागि दोस्रो हाफमा अन्सु फातीले एक गोल फर्काए । तर, यो गोलले पनि ब्राइटनले भिल्लाको गोलवर्षालाई रोक्न मद्दत पुगेन । ओलीले ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यसअघि ओलीले युरोपा कन्फ्रेन्स लिग छनोटमा हिबरनीयनविरुद्ध ह्याट्रिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्