इन्द्रजात्राको आकर्षण 

0
Shares

 काठमाडौँ। 

इन्द्रजात्रा ललितपुर, भक्तपुर र दोलखामा धूमधामका साथ मनाइने पर्व हो । वर्तमान समयमा आएर त इन्द्रजात्रा विश्वभर नै मनाउन थालिएको देखिन्छ । अझ त सिक्किममा यस जात्राको अवसरमा सार्वजनिक बिदासमेत दिएर राज्यले नै मनाउन थालेको भन्न सकिन्छ । काठमाडौँ महानगरपालिकाले  २०७५ सालमा तत्कालीन मेयर विद्यासुन्दर शाक्यले विश्वभरका मेयरलाई इन्द्रजात्रा अवलोकनको लागि निम्तो दिएर यसलाई अन्तर्राष्ट्रिय बनाउन खोजेको देखिन्छ ।

काठमाडौंमा वर्षभरिमा विभिन्न जात्रा मनाउने गरेको देखिन्छ । तीमध्ये साताभर मनाइने इन्द्रजात्रा एक रमाइलो, र रोमाञ्चक जात्रा हो । नेपाल संवत्अनुसार यंलाथ्व द्वादशीको दिनमा नेवाः भित्रको साय्मि भनिने मानन्धर थरका समुदायले काठमाडौंको हनुमानढोका बाहिर यःसिँनामको रूखको लामो काठ उठाएर जात्राको सुरुवात हुन्छ । यसलाई इन्द्रध्वजोत्थान पनि भनिन्छ । यंलागा तृतीयाको दिनमा यही यःसिँढालेपछि जात्रा सम्पन्न हुने गर्दछ ।

इन्द्रजात्राको मुख्य आकर्षण भनेको जीवित देवदेवीहरू कुमारी, गणेश र भैरवको रथ जात्रा हो, जुन जात्राको दौरान तीन दिन तान्ने गरिन्छ । त्यस्तै, लाखय्, हल्चोक आकाश भैरव र पुलिकिसि पनि जात्राको प्रमुख आकर्षणमै पर्दछ । त्यस्तै, यस जात्राका अरू रमाइलो पक्षको कुरा गर्नुपर्दा दश अवतार महाकाली नाच, देवीनाच दीप्याखंको पनि नाम आउँछ । रथजात्राको पहिलो दिन अर्थात् यंलाथ्व चतुर्दशीको दिनमा दागिं, बौमत पनि इन्द्रजात्राकै अवसरमा निकाल्ने गरिन्छ ।

श्री हल्चोक आकाश भैरवको जात्रा कहिलेबाट शुरू भयो भन्ने यकिनका साथ भन्न कुनै ठोस प्रमाण नभए तापनि नेपाल संवत् १०७ताका राजा गुणकामदेवले शुरू गरेको अनुमान गरिएको छ । राजा गुणकामदेवलाई महालक्ष्मीले सपनामा आई राज्यलाई शत्रुको भयबाट मुक्त गर्न हल्चोकमा श्री आकाश भैरवसहित विभिन्न देवदेवीगणलाई तान्त्रिक विधिविधानबाट उत्पन्न गराएको वंशावलीमा लेखिएको छ । राजा गुणकामदेवले काठमाडौंको रक्षाको निम्ति चारैतिर खड्गाकारमा अष्टमातृका स्थापना गरी विभिन्न स्थानमा भैरव पनि स्थापना गरेको किंवदन्ती छ । हल्चोक आकाश भैरवको बाह्र वर्षे जात्रा भने राजा अमर मल्लले शुरू गरेको भनी वंशावलीमा उल्लेख गरिएको छ ।

नेवाः परम्पराअनुसार अष्टमातृका र भैरवको ठुलो महत्त्व छ । भैरवलाई महादेवकै अंशको रूपमा लिइन्छ भने नेवाःहरूले भैरवलाई अलग्गै रूपमा स्वीकार गर्दै १०८भैरव मान्दै आएका छन् । जसमा पचली भैरव, उन्मत्त भैरव, हयग्रीव भैरव, त्यांका भैरव, काल भैरव, बाघ भैरवको साथमा हल्चोक आकाश भैरव पनि पर्छ । यस आकाश भैरवको १२ वर्षे जात्रा पछिल्लोपटक वि.सं. २०७० सालमा भएको थियो भने आउँदो वि.सं. २०८२ सालमा हुन गइरहेको छ ।

 

हल्चोकको श्री हल्चोक आकाश भैरवलाई काठमाडौंका स्थानीय समाजले ‘सवःद्यः’ पनि भन्ने गरेका छन् । यस जात्रामा तीन जना देवगणहरू हुने गर्दछ । श्री हल्चोक आकाश भैरवको अनुहारको साथमा वस्त्र पनि नीलो रंगको हुने गर्दछ भने हातमा तरवार बोकेका हुन्छन् । त्यस्तै, चण्डी र कुमारी दुवैको वस्त्र र अनुहार रातो हुन्छ । चण्डीको भने जुँगा हुन्छ । यंलाथ्व द्वादशीको दिनमा हल्चोकदेखि गुठियारहरूले एउटा पित्तलको सन्दुक बोकेर काठमाडौंको नरदेवीस्थित काय्गननि आउने गर्दछन् । त्यही काय्गननिबाटै द्वादशीदेखि यंलागा तृतीयासम्म आकाश भैरवको नाच निकाल्ने  गरिन्छ । जात्राको अन्तिम दिन देवगणहरूले वस्त्र र मुकुन्डो लगाएरै बाटोमा पूजा थाप्दै हल्चोकस्थित देवघरमा फर्कने गरिन्छ । देवघरमा पुजारीले देवगणलाई भित्र्याएपछि आकाश भैरवको जात्रा औपचारिक रूपमा सम्पन्न हुने गर्दछ ।

पहिला पहिला श्री हल्चोक आकश भैरवलाई इन्द्रजात्राको क्रममा हनुमानढोकाको नासः चोकमा राँगो दिने चलन थियो । ६ महिना अघिबाटै राँगो ल्याएर इन्द्रजात्राको क्रममा दिने गरिन्छ । सो अवसरमा उक्त चोकमा राँगोलाई खुल्ला छोडेर भैरवले राँगोलाई खड्गले हान्ने गरिन्छ । २०४६ सालबाट बन्द भएको यो परम्परा हेर्दा स्पेनको साँढे दौडाउने जात्राको झझल्को दिने खालको थियो ।

काठमाडौँ उपत्यकाको सभ्यता विश्वमै पुरानो मध्येमा मानिन्छ । यहाँ कम्तीमा तीन, चार हजार वर्ष अगाडिबाट बसोबास गर्दै आएका छन् भने १६ सय वर्ष अगाडिका पुरातात्विक महत्वका संरचना रहेको छ । त्यो समयदेखि निरन्तर हुँदै आएको धार्मिक परम्परा आजको दिनसम्मै जीवित छ ।

लिच्छवि र मल्लकालमा यो उपत्यका निकै समृद्ध रहेको थियो । त्यसैको बिम्ब हो यो सांस्कृतिक परम्परा र उपत्यकाका सहरमा रहेको मन्दिर, दरबार र पोखरीहरू । भक्तपुर, ललितपुर, भक्तपुरको दरबार र काठमाडौंको वसन्तपुर क्षेत्रको संरचना आदिले त्यस क्षेत्रमा विदेशी पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । साँखु, कीर्तिपुर, बुंगमति, टोखाको पुराना बस्तीसँगै पशुपति, बौद्ध र स्वयम्भूजस्ता स्थानहरू आफैंमा एउटा संग्रहालय होभन्दा फरक नपर्ला । विश्वका पुराना सहर र त्यहाँ रहेका कलात्मक वास्तुकलाको अवलोकन यो समयमा विश्वव्यापी पर्यटनको एउटा महत्त्वपूर्ण पाटो बनिदिएको छ । यो संरचना मात्र होइन, उपत्यकाको सांस्कृतिक परम्परा, जात्रापर्वहरू पनि समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययनको दृष्टिकोणले निकै महत्त्वपूर्ण छ ।

राणाहरूले भित्र्याएको युरोपेली वास्तुकला र त्यसको आधारमा बनाइएको दरबारको आफ्नै बेग्लै महत्त्व छ होला तर, काठमाडौंको सांस्कृतिक विरासत भने शाहवंशले उपत्यकामा विजय गर्नुअघि जनसंस्कृतिको रूपमा प्रचलनमा रहेको पर्व हो । अचेल देशको राजधानी सहर भएकैले यहाँको आधुनिक राज्यको संरचना र क्रियाकलाप प्रभावित भइरहेको छ । बस्ती बाक्लिँदै जाँदा यहाँको रैथाने संस्कृति अल्पसंख्यकको जातीय पहिचान हराउँदै गएकोमा अवस्थामा राज्यले यसको संरक्षण संवर्द्धनको लागि जानी नजानी योगदान दिँदै आएको छ ।

विदेशी संस्कृतिको आँखा चिम्लेर नक्कल गर्नु, विश्वव्यापी भूमण्डलीकरण, बदलिँदै गएको जीवनशैली र आत्मकेन्द्रित मनोविज्ञानलगायतका कारणले संस्कृतिलाई लिएर गौरवको भाव नयाँ पुस्तामा विस्तारै हराउँदै गएको छ । विकासको नाममा सञ्चालनमा रहेका विभिन्न आयोजना र परियोजनाले पर्यावरणसँगै संस्कृति, सम्पदा क्षेत्रमा प्रतिकूल असर परिरहेको छ । अर्कोतर्फ, सरकारी र स्थानीय सरकारले बेवास्ता गरेकोले यहाँको संस्कृति हराउने क्रममा छ । यस्तो अवस्थामा इन्द्रजात्रा हेर्न विदेशी पाहुनालाई निमन्त्रणा गरेर संस्कृतिको गौरव गर्दै हराउने क्रममा रहेको संस्कृति संरक्षण प्रवाह गरिदिएको छ । सांस्कृतिक सम्पदाको व्यापक प्रचार प्रसारबाट पर्यटकलाई आकर्षित र नेपालको समृद्धिमा यसको प्रयोग गर्नु आवश्यक छ, जसको सम्भावनाको उचित ढङ्गबाट सदुपयोग हुन सकिरहेकै छैन ।

फेरी सांस्कृतिक रूपमा नेपाल समृद्ध देश । यहाँ रहेका हरेक जातजातिको संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटकलाई आकर्षित गर्ने खालको छ । तैपनि पूर्वाधारको अभाव, राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताको कमीले सांस्कृतिक पर्यटनबाट लिन सकिने लाभ नेपालले लिन सकिरहेको छैन । नेपालको संस्कृतिलाई देश विदेशमा व्यापक प्रचारप्रसार गर्दै सांस्कृतिक पर्यटनबाट अर्थतन्त्र उकास्ने सम्भावना ठुलो छ । महानगरपालिकाले यसतर्फ गरेको संकेत निकै सकारात्मक र स्वागत योग्य मान्न सकिन्छ । हामीले नेपालेको पर्यटनको विविधतालाई केवल हिमाल, पहाड वा तराई, वनजङ्गल वा धार्मिक पर्यटनको दृष्टिले मात्र हेरेर पुग्दैन । सांस्कृतिक सम्पदाको संरक्षण र प्रचारप्रसारबाट पर्यटनको विकास दिगो हुनसक्छ ।