ज्यान मार्ने उद्योगमा संलग्न २ जना अभियुक्तलाई जन्म कैदको सजाय



उदयपुर । जिल्लाको बेलका नगरपालिका–३ का दुई जनालाई उदयपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा आजीवन कारावासको सजाय र २ लाख क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

बेलका नगरपालिका–३ का १९ वर्षीय विनोद ढकाल र अर्का एक नावालगले बेलका–३ कै कृष्णबहादुर सुनुवारको छोरी कविता सुनुवारको हत्या गरेको आरोपमा जन्म कैदको फैसला गरेको हो ।

उदयपुर जिल्ला अदालतका सूचना अधिकारी बुद्धराज निरौलाले दिएको जानकारी अनुसार २०७८ साल चैत्र २२ गते विनोद ढकाललगायत दुई जना मिलेर बिहान ट्युसन पढन गएको समयमा १० कक्षामा अध्ययनरत कविता सुनुवारलाई हत्या गरेका थिए ।

सूचना अधिकारी निरौलाका अनुसार मृतक कविता सुनुवारका पिता कृष्णबहादुर सुनुवारले हत्या भएकै दिन ईलाका प्रहरी कार्यालय रामपुर जाहेरी ठोक्सिलामा दिएका थिए । प्रहरीको छानविनले विनोद ढकाल र कवितासँगै पढने साथी (परिवर्तित नाम १४– ४– २१ क) मिलेर उनको हत्या गरेका थिए ।

ट्युसन पढ्न गएको समयमा बाटोमा विनोदले लुकाएर राखेको वियरको बोतलले कविताको टाउकोमा हिर्काएर हत्या गरेकोमा उदयपुर जिल्ला अदालतको २०८० भदौ २६ गतेको फैसलाले विनोद ढकाललाई जन्मकैदको फैसलासहित २ लाख क्षतिपूर्ति भराउने र अर्को नाबालक साथीलाई पनि जन्म कैदको फैसलासहित २ लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । नाबालकको हकमा भने जन्म कैदको दुई तिहाई १६ वर्ष ८ महिना कैद सजाय तोकिएको र सजाय भुक्तानका लागि बाल सुधार गृहमा पठाइएको सूचना अधिकारी बुद्धराज निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्