लुम्बिनी र गान्धारका बौद्ध सम्पदालाई जोड्ने पहल



काठमाडौं
नेपालको लुम्बिनी र पाकिस्तानको गान्धारस्थित बौद्ध सम्पदालाई जोड्न नेपाल र पाकिस्तानका सरकारी तथा निजी क्षेत्रको संयुक्त पहलको आवश्यक्ता रहेको सरोकारवालाहरुले जनाएका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूताबासले राजधानीमा आइतबार आयोजना गरेको ‘गान्धार : इतिहास र सम्पदाको खजाना खोल्दै’ विषयक कार्यक्रमका सहभागी वक्ताहरुले उक्त आवश्यक्ता औंल्याएका हुन् । उनीहरुले शाक्यमुनी गौतम बुद्धको जन्मोथलो नेपालको लुम्बिनी जस्तै बौद्ध परम्परामा गुरु पद्मसम्भव अर्थात रिम्पोछेको जन्मस्थल गान्धारकै निकट रहेको कारण त्यसको व्यापक प्रचारप्रसार गर्न सके गान्धारमा नेपाली बौद्ध पर्यटक बढ्ने धारणा पनि व्यक्त गरे । कार्यक्रममा पर्यटन व्यवसायीहरुले त्यसका लागि पाकिस्तानबाट लुम्बिनीमा सीधा हवाई सेवा संचालन गर्नुपर्नेमा जोड दिंदै उडान नियमित नहुँदासम्म चार्टर उडान भए पनि शुरु गर्नुपर्ने सुझाव दिएका थिए ।

भर्चुयल माध्यमबाट कार्यक्रममा जोडिदै नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हासमीले गान्धार र लुम्बिनीको प्रवर्द्धनमा दुबै देश मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले तेस्रो शताब्दीमा गान्धारमा बौद्ध सभ्यता पुगेको चर्चा गर्दै यस क्षेत्रमा दुबै देशले साझा काम गर्नुपर्ने आवश्यक्ता औंल्याएका थिए ।
कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले दुबै बौद्ध सम्पदाको प्रवर्द्धनका लागि स्पष्ट प्याकेज ल्याउन जरुरी रहेको बताउँदै भने – ‘स्पष्ट प्याकेज नल्याउँदा बौद्ध पर्यटकहरु लुम्बिनी आउँदा एक रात बसेर भोलिपल्टै पूजापाठ गरेर फर्किने गरेका छन् । त्यसैले उनीहरुलाई त्यहाँ केही दिन राख्न प्रत्येक दिन कस्तो कार्यक्रम राख्ने भन्ने स्पष्ट प्याकेज बनाउनुपर्छ । त्यस्तै गान्धारमा पनि नेपाली बौद्ध पर्यटकलाई आकर्षित गर्न नेपाल र पाकिस्तानबीच सीधा हवाइ सम्पर्क हुनु जरुरी छ ।’


कार्यक्रममा डा. केशवमान शाक्यले प्राचिन कपिलवस्तुमा भएको आक्रमणबाट बच्न भागेका शाक्य सेनाको एक समूह गान्धार पुगेको र अर्को समूह काठमाडौं आएको बौद्ध इतिहासमा उल्लेख भएको जिकिर गर्दै तिनै शाक्यहरुले त्यहाँ बौद्ध परम्पराको विस्तार गरेको बताए । गान्धारमै ग्रिसेली र प्राचीन भारतीय कलाको संयोजनबाट पहिलो बुद्धमुर्ति बनेर पछि संसारभर विस्तार भएको इतिहासवीद्हरुकोक भनाइ छ ।


कार्यक्रममा भिक्षु कौडण्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. हृदयरत्न बज्राचार्य, प्राडा त्रिरत्न मानन्धर, पर्यटन व्यवसायी विक्रम पाण्डे, अच्युत गुरागाईंलगायतले पाकिस्तान मुस्लिम राष्ट्र भइकन पनि गान्धारामा बौद्ध सम्पदाको संरक्षण सम्वर्द्धनका लागि गरेका कार्यहरु प्रशंसनीय रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्