न्युक्यासल २० वर्षपछि च्याम्पियन्स लिगमा



लन्डन, (एजेन्सी) । च्याम्पियन्स लिगमा २० वर्षपछि सहभागिता भएको न्युक्यासल यूनाइटेडले पहिलो खेलमा एसी मिलानसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजालाई टोलीका मेनेजर एडी होवेले सकारात्मक रुपमा लिएको बताए । होवेले न्युक्यासल च्याम्पियन्स लिगअन्तर्गत अर्को खेलमा सुधार गर्ने पनि विश्वास लिएका छन् ।

गत सिजनको प्रिमियर लिग चौथो स्थानबाट समाप्त गरेपछि न्युक्यासलको च्याम्पियन्स लिग खेल्ने पक्का भएको थियो । समूह एफ मा रहेको टोलीको लागि अन्य दुई खेल अझ कठिन हुने पनि होवेले बताए । यो समूहमा फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन टोली बोरुसिया डर्टमण्ड रहेको छ ।

खेलमा इटालियन टोली मिलानले न्युक्यासलमाथि निकै दवाव बनाएको थियो । ओलिभीएर जिरोड र थियो हर्नान्डेजको खतरनाक प्रहारलाई न्युक्यासलका गोलकीपर निक पोपले बचाएका थिए । उनको कारण इंग्लिस प्रिमियर लिग टोलीले महत्वपूर्ण अंक जोड्न पाएको छ ।

च्याम्पियन्स लिग फुटबलमा न्युक्यासलका खेलाडीका लागि परीक्षण पनि हुने होवे बताउँछन् । यो अनुभवले खेलाडीको आत्मविश्वास बढ्ने विश्वास लिएको भन्दै होवेले बताए— कठिन स्थिति आइरहेको छ तर, कसैलाई कमजोर ठान्नु पनि हुँदैन । नयाँ अनुभव भइरहेको छ । राम्रो हुँदै जानेमा म विश्वस्त छु ।

यसै समूहको अर्को खेलमा पीएसजीले भने बोरुसियालाई २–० ले हराएको थियो । पिएसजीको जितमा किलियन एम्बाप्पे र अचराफ हाकिमीले गोल गरेका थिए । एम्बाप्पेले खेलको ४९औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए भने हाकिमीले ५८औं मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

सिटीको जित

च्याम्पियन्स लिगअन्तर्गत समूह जी को खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्यो । १–० ले पछि परेको सिटीले सर्बियाली टोली रेडस्टार बेलगे्रडलाई ३–१ ले हराएको थियो । पहिलो हाफमा १–० ले पछि परेको सिटीले दोस्रो हाफमा तीनै गोल गरेको थियो । दोस्रो हाफ शुरु भएलगतै जुलियन अल्भारेजले अर्लिङ हालान्डको पासमा गोल गरेका थिए ।

अल्भारेजले नै ६०औं मिनेटमा गोल गर्दै सिटीलाई २–१ को अग्रतामा पु¥याए । उनको फ्रिकिक प्रहारमा बेलग्रेडका गोलकीपर झुकिन पुगेका थिए । ७३औं मिनेटमा रोड्रीले सिटीका लागि अर्को गोल थपेर अग्रता बढाएका थिए । सोही समूह अन्तर्गत जर्मन क्लब आरबी लाइपजिगले योङ्ग ब्वाइजलाई ३–१ ले हराएको थियो ।

बार्सिलोनाको फराकिलो जित

समूह एच अन्तर्गत खेलमा स्पेनी महारथी बार्सिलोनाले बेल्जियन लिग विजेता टोली रोयल एन्टवर्पमाथि ५–० को फराकिलो जित निकालेको थियो । एन्टवर्प च्याम्पियन्स लिगमा पहिलोपटक स्थान बनाएको टोली हो । बार्सिलोनाको जितमा जोआओ फेलिक्सले दुई तथा रफिन्हा, रोबर्ट लेवान्डोस्की र गाभीले १–१ गोल गरे । सोही समूहको अर्को खेलमा एफसी पोर्टोले शाख्तर डोनेट्स्कलाई ३–१ ले हराउदै तीन अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्