एलए ,रेडियन्ट र ब्राईट होराईजन विजयी



ललितपुर । तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगितामा लिटिल एन्र्जल्स, ब्राईट होराईजन र रेडियन्ट पब्लिक विजयी भएका छन् ।

यस्तै आशिष थापामगरको उत्कृष्ट स्कोरका साथ मेगस स्कुलले आयोजक पुष्पसदन स्कूललाई निराश बनाइदियो ।

किर्तीपुरस्थित आफ्नै घरेलु कोर्टमा सम्पन्न खेलमा पुष्पसदन मेगससँग ४८–४० को स्कोरले पराजित भयो । खेलको सर्वाधिक स्कोरकर्ता मेगसका आशिष थापामगर भए । उनी एक्लैले ३७ स्कोर गरे । यसअघि आईतबार पनि उनले नै राराहिललाई पराजित गर्न व्यक्तिगत ५९ स्कोर गरेका थिए ।

प्रतियोगिताको सिनियर ब्वाईजतर्फ लिटिल एन्र्जल्सले जनसेवा स्कूललाई ३४–२३ को स्कोरले हरायो । खेलमा ११ स्कोर गरेका एलएका लक्कि मर्हजन सर्वाधिक स्कोरर बने । सिनियर र जुनियर ब्वाईजतर्फ रेडियन्ट पब्लिक र ब्राईट होराईजन स्कूलका दुबै टिमले जित निकालेका छन् ।

सिनियर ब्वाईजतर्फ रेडियन्ट पब्लिकले स्वर्णीम स्कूललाई ३४–१४ स्कोरले पाखा लगाएको छ । यो खेलमा रेडियन्टका रोहित चौधरी सर्वाधिक स्कोरर बने । उनले ८ स्कोर गरे । जुनियर ब्वाईजतर्फको खेलमा रेडियन्ट पब्लिकले भ्याली भ्यू स्कूललाई २०–६ को अन्तरले पाखा लगायो । ८ स्कोर गरेका विधान सर्वाधिक स्कोरर बने ।

प्रतिक्रिया दिनुहोस्