युरो २०२४ छनोटमा बेल्जियमको जित



लन्डन, (एजेन्सी) । यूईएफए युरो २०२४ छनोटको समूह चरणमा मंगलबार बेल्जियमले जित हासिल गरेका छन् ।

समूह एफ मा रहेको बेल्जियमले एस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । बेल्जियमलाई जिताउन रोमेलु लुकाकुले दुई, जान भर्टोङ्गन, चार्ल्स डे केटेलेर र लिआन्ड्रो ट्रोसार्डले एक–एक गोल गरेका हुन् । जितसँगै बेल्जियम पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ । समान पाँच खेलमा १३ अंक नै रहेको अष्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। अष्ट्रियाले पनि मंगलवार राति नै भएको खेलमा स्वीडेनलाई ३–१ ले हराएको थियो ।

उता समूह सी मा इटालीले युक्रेनलाई २–१ ले पराजित ग¥यो । इटालीको जितमा दुवै गोल डाभिडे फ्राटेसीले गरे । युक्रेनका लागि एक सान्त्वना गोल अन्द्रिय यार्मोलेन्कोले गरेका थिए । समूहमा इंग्ल्याण्ड पाँच खेलमा १३ अंक सहित शीर्ष स्थानमा छ । त्यसपछि इटाली, युक्रेन र नर्थ म्यासेडोनियाको समान सात अंक छ । युक्रेनले इटाली र नर्थ म्यासेडोनिया भन्दा एक खेल कम खेलेको छ ।

त्यसैगरी समूह ए को खेलमा स्पेन र नर्वेले पनि जित हासिल गरेका छन् । स्पेनले साइप्रसलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो । स्पेनको जितमा फेरान टोरसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बाएनाले समान एक–एक गोल गरे ।

त्यस्तै, सोही समूह अन्तर्गतको अर्को खेलमा नर्वेले जर्जियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा एर्लिङ हालाण्ड र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । जर्जियाका लागि इन्ज्युरी समयमा बुदु जिव्जिवाद्जेले सान्त्वना गोल गरे ।

समूहमा स्कटल्याण्ड पाँच खेलमा १५ अंकसहित शीर्ष स्थानमा छ भने स्पेन चार खेलमा ९ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको नर्वेको पाँच खेलमा ७ अंक छ । स्कटल्यान्ड र नर्वे दुवैले अब ३–३ खेल खेल्न बाँकी रहेको अवस्थामा नर्वेले कुनै खेल गुमाए प्लेअफको युरो छनोट गुमाउने सम्भावना रहनेछ । प्लेअफमा पनि नर्वेको सम्भावना निकै कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्