एन्फा अध्यक्ष नेम्वाङको बर्खास्ती माग



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङको सोमबार बर्खास्ती माग गरिएको छ । एन्फाका ४० प्रतिशत भन्दा बढी सदस्यले अध्यक्षको बर्खास्ती माग गर्नुका साथै महासचिव किरण राईको पनि बर्खास्ती माग भएको छ । असन्तुष्ट पक्षले विशेष साधारण सभा बोलाउन निवेदन पनि पेश गरेको छ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई प्रतिनिधिहरुको हस्ताक्षरसहित निवेदन बुझाएको हो । एन्फाको विधानअनुसार ४० प्रतिशत भन्दा बढी सदस्यको हस्ताक्षरसहित निवेदन आएमा विशेष साधारण सभा बोलाउनुपर्ने प्रावधान रहेको छ । संस्थाले निवेदन बुझाएको ३० दिनभित्र विशेष साधारण सभा बोलाउनु पर्ने हुन्छ ।

क्लब, जिल्ला फुटबल संघ तथा महिला फुटबल संघ गरी कुल ४९ साधारण सभा सदस्यले हस्ताक्षर गरेको निवेदनमा एन्फाका वर्तमान अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन लागेको र उनीहरुलाई सो पदमा निरन्तरता दिँदा नेपालको फुटबल भविष्यमा नै अतुलनीय क्षति पुर्याउँछ भन्ने ठहर गरेको उल्लेख गरिएको छ ।

निवेदनमा वर्तमान नेतृत्वले गरेका विविध १९ विषय उल्लेख गर्दै विशेष साधारण सभा राखेर अध्यक्ष र महासचिवलाई बर्खास्त गर्ने एजेन्डा राख्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्