मेडभेडेभ र जोकोभिच उपाधिका लागि भिड्ने



न्युयोर्क, (एजेन्सी) । कार्लोस अल्काराजको यूएस ओपन टेनिस प्रतियोगितामा अधिकार समाप्त भएको छ । डिफेन्डिङ च्याम्पियन अल्काराजलाई रुसी खेलाडी डानील मेडभेडेभले पराजित गरेका हुन् । यो नतिजासँगैं विश्व वरियताको शीर्ष खेलाडी अल्काराजको उपाधि रक्षा गर्ने लक्ष्य पनि सकियो । मेडभेडेभले उनलाई ७–६, ६–१, ३–६, ६–३ ले पराजित गरेका थिए ।

आइतबार राति हुने फाइनलमा मेडभेडेभको सामना सर्बियाका नोभाक जोकोभिचसँग हुनेछ । जोकोभिचले अमेरिकाका युवा खेलाडी बेन शेल्टनलाई ६–३, ६–२, ७–६ ले पराजित गरेका थिए । जोकोभिच कीर्तिमानी २४ औं ग्रान्डस्लाम उपाधितिर अग्रसर छन् । उनीसँग मार्गारेट कोर्टसँग बराबरी गर्ने मौका छ । उनले यसै वर्ष सम्पन्न विम्बल्डनको फाइनलमा पराजित भएपछि यो मौका गुमाएका थिए ।

मेडभेडेभले यूएस ओपन टेनिस प्रतियोगिताको उपाधि सन् २०२१ मा जितेका थिए । यो उनको पहिलो ग्रान्डस्लाम उपाधि समेत थियो । यसपटक उनी दोस्रो ग्रान्डस्लाम उपाधि जित्न तत्पर रहेको पनि बताएका छन् । तर, उनले जोकोभिचसँग निकै प्रतिस्पर्धा हुने अपेक्षा लिएका छन् । मेडभेडेभले दुई वर्ष यूएस ओपन च्याम्पियन बन्न जोकोभिचलाई नै हराएका थिए ।

जोकोभिचले गत वर्ष भने प्रतियोगितामा भाग लिन पाएका थिएनन् । उनले कोभिड १९ को खोप नलगाएकै कारण यस प्रतियोगितामा उनलाई प्रवेश दिएको थिएन । उनको यो १० औं यूएस ओपन फाइनल पनि हो । जोकोभिचले युवा खेलाडीलाई हराउँदा उनीहरुसँग केही प्रेरणा लिने पनि बताएका थिए । उनीहरुले जस्तै कडा मेहनत गर्न उनलाई प्रेरणा दिइरहेको उनको भनाइ रहेको छ ।

दर्शकको अनुमान गलत

हरेक वर्षमा हुने चार ग्रान्डस्लाममा यूएस ओपन वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिता हो । यो प्रतियोगिता शुरु हुँदादेखि नै दर्शकले जोकोभिच र अल्कारेजबीच फाइनल हुने अनुमान लगाउँदै आएको थियो । तर, सेमिफाइनलमा अल्कारेजको प्रदर्शन कमजोर भएपछि दर्शकको अनुमानलाई मेडभेडेभले गलत बनाइदिए । मेडभेडेभ ती खेलाडी हुन्, जसले यूएस ओपनमा निकै राम्रो प्रदर्शन गरिरहेका छन् । उनी सन् २०१९ को प्रतियोगितामा पनि फाइनल पुगेका थिए । तर, उनी राफायल नाडालसँग पराजित भएका थिए ।

जोकोभिचले युवालाई पाठ सिकाए

जोकोभिचले हालिया वर्षमा जति पनि प्रतियोगिता भए त्यसमा युवा खेलाडीमाथि वर्चश्व नै बनाएका छन् । पछिल्ला ५ वर्षमा उनले ५३ खेल खेलेकोमा २३ वर्ष मुनिका खेलाडीसँग ८ खेलमा मात्रै पराजय बेहोरेका छन् । सन् २०२० देखि भने उनी अल्काराज र मेडभेडेभसँग मात्रै पराजित भए । जोकोभिचले सेमिफाइनल खेलमा अमेरिकाका युवा खेलाडीलाई पराजित गर्न पुरै अमेरिकासँग सामना गर्नुपरेको थियो ।

शेल्टनको ठूलो हतियार भनेको घरेलु दर्शक थियो । तर, जोकोभिचले उनलाई पाठ सिकाए कि खेल खेल्न दर्शकको भन्दा पनि प्रदर्शन राम्रो हुनुपर्छ । पहिलो दुई सेट जितेपछि तेस्रो सेट शुरु भएदेखि नै घरेलु दर्शकले जोकोभिचको ध्यान भंग गर्न कोशिस भएको थियो । शुरुको दुई सेट सहजै आत्मसमर्पण गरेका शेल्टनले तेस्रो सेटमा जोकोभिचसँग डटेर सामना गरे । यो सेट टाइब्रेकमा पुगेको थियो । यो सेटमा शेल्टन ५–४ को अग्रतामा पुगेर सेट जित्ने तयारीमा थिए । तर, अनुभवी जोकोभिचसँग उनको अनुभव कच्चा नै सावित भयो ।

प्रतिक्रिया दिनुहोस्