नेपाली क्रिकेट भारतीय मिडियामा छायो



काठमाडौं । पाकिस्तानी अलराउन्डर शाहिद अफरीदीले नेपाल आउँदा भनेका थिए कि नेपाली टोलीमा राम्रा राम्रा खेलाडी छन् । उनीहरुलाई एक्सपोज गर्ने हो भने नेपालले ठूल्ठुला टिमलाई समेत चुनौती दिन सक्षम हुनेछन् । अफरीदीको यो कुरालाई नेपाली टोलीले एशिया कपमा राम्ररी प्रष्ट्याइदियो । नेपाली टोलीका खेलाडीको तारिफै तारिफ भइरहेको छ त्यो पनि भारतीय मिडियामा ।

नेपाली टोली भारत र पाकिस्तानको समूहमा परेको थियो । दुबै टोली एशियाली क्रिकेटका पावरहाउस हुन् । यो हिसाबले नेपाललाई कमजोर ठानिएको थियो । तर, नेपालले ध्यान खिँच्न सफल भयो । यद्दपि नेपाल पाकिस्तानसँग २ सय ३८ रनले हारेको थियो । पाकिस्तानलाई ४२ ओभरसम्म नेपालले नियन्त्रणमै राखेको थियो । उनीहरु आक्रमक भएको भनेको ४३ ओभरदेखि थियो ।

नेपालको ब्याटिङ भने पाकिस्तानका बलरसँग चल्न सकेन । केवल १ सय ४ रन बनाएर समाप्त भयो । नेपाललाई यही नतिजामा भारतले हल्का लियो । कमेन्टेटरहरुले समेत नेपालले भारतविरुद्ध १ सय रन पनि बनाउन सकिँदैन भनेका थिए । तर, पछि यही कमेन्टेटरहरुले नेपालको ब्याटिङ हेरेपछि प्रशंसा गर्न पनि चुकेनन् । भारतविरुद्ध २ सय रन कटाएपछि नै नेपाली क्रिकेट भारतीय मिडियामा छायो ।

भारतविरुद्ध नेपालले ५० ओभर खेलेको भए २ सय ५० रन कटाउने भारतीय कमेन्टेटरमा रहेका इरफान पठानले बताए । पठानले सोमपाल कामी जसरी आक्रमक देखिए त्यो अनुसार बाँकी १० बल खेलेको भए नेपालले २ सय ५० रन कटाउने बताएका थिए । नेपालले पहिलो पटक भारतसँग खेलेपनि यति खेल्नु प्रंससनीय रहेको उनले बताएका थिए ।

पठानले विशेषगरी सोमपाल कामीको निकै तारिफ गरेका थिए । उनले भने—सोमपाल नम्बर आठमा आएर पनि यति आक्रमक ब्याटिङ गर्न सफल भए । उनले ५६ बलमै ४८ रन बनाए । यदि उनी टिकेको भए शायद भारतको लागि चुनौतीपूर्ण लक्ष्य हुने थियो ।

पठानले नेपाली क्रिकेटका लागि आईसीसीले पहल गर्नु पर्ने पनि बताएका थिए । उनले भने—आईसीसीले नेपाल जस्तो एसोसिएट राष्ट्रको लागि केही पहल गर्नुपर्छ । नेपालले राम्रो खेलिरहेको छ । नेपालको लागि आईसीसीले पहल गरिदियो भने यी खेलाडीले राम्रो गर्न सक्नेछन् । ललित (राजवंशी) को बलिङमा भारतीय महान ब्याटसम्यानले परिचित रोहित शर्मा समेत रन बनाउन सकेका छैनन् । सन्दीप पनि विश्वका उत्कृष्ट बलरमध्ये एक हुन् । यदि उनको बलमा बाउन्ड्रीमा रोहितको क्याच समातेका भए शायद भारतलाई यो खेल जित्न कठिन हुने देखिएको थियो ।

अर्को कुशल भुर्तेलले छक्का प्रहार गरेको विषयमा पनि भारतीय कमेन्टेटरहरु छक्क परेका थिए । उनीहरुले भारतीय बलरको बलिङमा छक्का प्रहार गरेकोमा कुशलको तारिफ गरिरहेका थिए । यस्तै भारतीय कप्तान रोहित शर्माले ब्याटिङ गर्दा त्यति सहज नभएको पनि बताए । उनले बताए कि नेपाली बलरहरु सोचेभन्दा राम्रो र घातक देखिएको थियो । उनले बताए—शुरुमा मलाई केही डर भयो, जब मेरो नजर ठिक ठाउँमा लाग्यो सबै सहज भयो ।

प्रतिक्रिया दिनुहोस्