भैँसीपालनमा साढे ३ करोड लगानी, मनग्य आम्दानी

0
Shares

स्याङ्जा । 

स्याङ्जाको चापाकोट नगरपालिका–९ बैंडीका दुई दाजुभाइले भैँसीपालनमा साढे ३ करोड रुपैंया लगानी गरेका छन् । दुई दाजुभाई उत्तम आचार्य र विरेन्द्र आचार्यले यस व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । ‘विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,’ भैसीपालक कृषक उत्तम आचार्यले भने, ‘विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।’ १० बर्ष वैदेशिक रोजगारको सिलसिलामा कोरिया बस्नुभएका आचार्यले नेपाल फर्केपछि भैँसीपालन सुरु गरेका हुन् । भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको आचार्यको भनाई छ । ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ का सञ्चालक आचार्य बन्धुले मासिक ११ लाखको दूध बिक्री गरी ३ लाख रुपैयाँ बचत गर्दै आएका छन् ।

१ सय रोपनी क्षेत्रफलमा भैँसीका लागि आवश्यक घाँस रोपिएको छ । ८० रोपनी जग्गामा गोठ लगायत अन्य संरचना बनेको छ भने थप २० रोपनी जग्गा भाडामा लिएर विगत ३ बर्षदेखि उनीहरुले भैँसी पालिरहेका छन् । उनीहरुले सुरुआतमा २० उन्नत जातका मुर्रा भैँसीबाट व्यवसाय थालेका थिए । हाल उनको फार्ममा माउ भैसी ८०, दुई उन्नत जातका मुर्रा राँगा र पाडापाडी ५० वटा छन् । हाल ५० भैँसीले दूध दिइरहेका छन् । संचालक आचार्य भन्छन्, ‘विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।’ आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने जनाउँदै उनले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताए । ‘स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैसीपालनलाई अगाडी बढाएको हुँ,’ आचार्यले भने।

भैँसी फार्मबाट दैनिक ३ सय ६० लिटर दूध उत्पादन हुने गरेको छ । दूध विक्रीका लागि बजारको समस्या नरहेको किसान आचार्य बताउँछन्  । ‘दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,’ उनी भन्छन, ‘स्थानीय चापाकोट बजार, पाल्पाको रामपुर, वालिङ तथा आसपासमा दूध विक्री भइरहेको छ ।’ बजार सानो भएपनि दूध विक्रीका लागि समस्या नहुँदा खुशी लागेको उनले बताए । मासिक ३ लाख रुपैयाँ बचतले दुईवटा दाजुभाईको घरपरिवार राम्रोसँग चलेको आचार्य बताउँछन्  । आचार्यले भने, “यसलाई अझै व्यवस्थित गर्नका लागि करिव डेढ करोड लगानी गर्ने तयारीमा छौँ ।” यस फार्मले विश्व बैंकद्धारा संचालित एनएलएसआइपि परियोजना अन्तर्गत ८० लाख अनुदान पनि प्राप्त गरेको छ ।

चापाकोट नगरपालिकाका नगरप्रमुख देबबहादुर खाँणले युवाहरु विदेश नगई स्वदेशमै व्यवसाय गर्दा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । ‘युवाहरु उत्पादनमा जोडिनुपर्छ, व्यवसाय प्रबद्र्धनका लागि पालिका सहयोग गर्न तयार छ,’ उनले भने । चापाकोट नगरपालिकाले कृषकलाई पशुपालनतर्फ लाग्न प्रोत्साहन गर्न अनुदानको नीति अवलम्बन गरेको छ । पशुपालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदान वितरणको नीति अगाडी सारेको हो ।
चापाकोट नगरपालिकाले व्यावसायिक कृषकका लागि चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिए । ‘व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति नगरसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौ ।’ उनका अनुसार नगरपालिकामा निवेदन दिएका कृषकहरुको फार्म अनुगमन सुरु गरिएको छ । व्यावसायिक रुपमा पशुपालन गरिरहेका कृषक पहिचान गरी अनुदान उपलब्ध गराइने खनालले बताए ।

कृषकलाई सहज होस भनेर नगरपालिकाले वडा नं. ४ को दार्सिङमा पशु प्राविधिक सहितको पशु सेवा सम्पर्क कार्यालय स्थापना गरेको छ । ग्रामीण भेगका जनतालाई नजिकबाटै पशु सम्बन्धी सेवा दिने उद्देश्य सहित पालिकाले सम्पर्क कार्यालय स्थापना गरेको हो । गाउँमै पशु सेवा शाखा स्थापनापछि कृषकलाई सहज भएको छ । यसले गर्दा पशुवस्तु बिरामी पर्दा उपचारका लागि चापाकोट बजारसम्म ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ । सम्पर्क कार्यालयमा १ जना प्राविधिक राखिएको छ ।

नगरपालिकामा पशुपालन गर्ने कृषकको संख्या बढेसँगै भैसी पकेट क्षेत्र समेत विस्तार भएको छ । वडा नम्बर ८ र ९ मा भैसी पकेट क्षेत्र लागु भएको छ । भैसी पकेट क्षेत्रका समेत अध्यक्ष रहेका आचार्यले चालु आर्थिक वर्षमा  नगरका अन्य वडाहरुमा पनि भैसी पकेट कार्यक्रम विस्तार गरिने बताए । भैसी पकेट कार्यक्रम अन्तर्गत केन्द्रबाट २३ लाख अनुदान प्राप्त भएको आचार्यले जानाकारी दिए । उक्त रकमबाट उन्नत जातका पाडीहरु, घाँसको बिउ, औषधी तथा अन्य सामाग्रीहरु किनेर किसानहरुलाई वितरण गरिएको आचार्यको भनाई छ । उनले भने, ‘भौगोलिक रुपमा पिछडिएको चापाकोटलाई भैसीपालनको हब बनाउने लक्ष्य छ’ ।