रियलको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी) । इंग्लिस मिडफिल्डर जुड बेलिङ्घमले इन्ज्युरी समयमा गरेको गोलमा रियल मेड्रिडले शनिबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा गेटाफेमाथि संघर्षपूर्ण जित निकाल्यो ।

दुवै टोली समान १–१ गोलको बराबरीतिर अग्रसर उक्त खेलको इन्ज्युरी समयमा बेलिङ्घमले गोल गर्दै रियललाई जितको नतिजा दिलाएका थिए । यसै सिजन रियलमा आबद्ध भएका उनले अहिलेसम्म लिगको हरेक खेलमा गोल गर्दै आइरहेका छन् । गेटाफेको घरेलु मैदान कोलिसियम अल्फोन्सो पेरेजमा भएको खेलमा घरेलु टोलीले रियलकै पूर्व खेलाडी बोर्जा मायोरालको गोलको मद्दतले ११औं मिनेटमा अग्रता लिएको थियो । २३औं मिनेटमा बेलिङ्घमलाई गेटाफेका कारलेस अलेनाले लडाएपछि रियलले पेनाल्टीको अपील गरेको थियो । तर, भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई पेनाल्टी नदिएपछि रियलले बराबरी गर्ने अवसर गुमायो ।

त्यसपछि दोस्रो हाफको सुरुवातमा नै जोसेलुले गोल गर्दै रियलले खेललाई बराबरीमा ल्याएका थिए । मोड्रिचको उत्कृष्ट क्रसमा जोसेलुले बललाई गोलपोष्ट भित्र छिराउन सफल भए । उक्त गोलपछि दुवै टोली १–१ गोलको बराबरीतर्फ उन्मुख भएको थियो । तर, रियलले अन्तिम समयमा गोल गर्दै जितको नतिजा निकाल्यो । लुकास भास्क्वेजले प्रहार गरेको बललाई खेलमा उत्कृष्ट प्रदर्शन सोरीयाले बल नियन्त्रणमा लिन नसकेको अवस्थामा सिधै बेलिङ्घमको खुट्टामा पुगेको थियो । जसलाई बेलिङ्घमले सजिलै पोस्टको दिशा देखाएपछि रियलको तीन अंक पक्का भयो । जितसँगै रियलको चार खेलबाट १२ अंक भएको छ । गेटाफेको भने चार अंक मात्र छ ।

प्रतिक्रिया दिनुहोस्