सविनाको कृषि कर्म



लमजुङ ।

पछिल्लो समय घर देखि कार्यालयसम्म महिलाहरुको उपस्थिती र क्रियाशिलताका विभिन्न उदाहरणहरु हामीले देखेका छौ र सुनेका पनि । सामान्यतय घरगृहस्थीमा व्यस्त महिलाहरुलाई भने कृषि तथा खेतीपातीमा सहायक भूमिकामा राखिने भएपनि लमजुङ बेसीशहरकी सविना श्रेष्ठले कृषिलाई व्यसायिक र मुख्य पेशाका रुपमा लिनुभएको छ ।

कृषि कर्ममा रमाउँदै आउनुभएकी बेसीशहर नगरपालिका वडा नं. २ नरवलबेसीकी सविनाले ८ बर्ष सम्म बाँझो रहेको जग्गा विराएर व्यवसायिक तरकारी खेती गर्दे आउनु भएको छ । श्रेष्ठले नरवलबेसीमा रहेको बाँझो जमिनलाई फाँडेर मौसमी र बेमौसमी तरकारी खेती गर्नुभएको छ ।

सुरुमा ७५ हजार रुपैयाँ लगानी गरेर व्यवसायीक तरकारी खेती सुरु गरेकी सविनाले पाँच बर्षको लागि बार्षिक २ लाख तिर्ने गरी सात रोपनी जग्गा लिजमा लिनुभएको हो । उहाँले हाल करिब तिन रोपनी क्षेत्रफलमा मात्रै तरकारी खेती गर्नुभएको छ । अहिले वारीमा लटरम्म घेराउला, करेला, काँक्राे फलेको छ भने साग पनि लगाउनुभएको छ । सविना भन्नुहुन्छ,–बजारीकरणको खासै समस्या छैन, करेला र घेराउला लगायतका मौसम अनुसारको तरकारी बेचेर मात्र मासिक ६० देखि ६५ हजार आम्दानी हुन्छ, त्यसो त मएक्लै प्रयासले भने भएको होइन, यस काममा मेरो श्रीमानको पनि साथ र सहयोग छ ।’

सविनाका श्रीमान अर्जुन श्रेष्ठ भन्नुहुन्छ,– उत्पादीत तकारीको बजार राम्रो भएपनि वजार सम्म पुर्याउन अलि समस्या छ, बजार सम्म बोकेर लैजान गाह्रो हुने हुदाँ तरकारी ढुवानीकै लागि किस्तामा स्कुटर किनेका छौँ । बारीमा करेला, घेराउला मात्र नभई संगैको टनेलमा काउलीको विरुवामा पनि जमाउनुभएको छ । “यो भदौ ३ गते जमाएको काउलीको विउ हो अव यहि महिनाको अन्तिमा लगाउने बेला हुन्छ, अनि लगाउन शुरु गर्छु ।” सविनाले भन्नुभयो । उहाँको बारीमा अहिले सिमि र बोडी पनि टुसा उम्ररेको छ ।

स्कुल पढ्दै गर्दा धेरै पढेर देशको सेवा गर्ने इच्छा थियो सविनाको, अहिले कृषि क्रान्तिमा लागेको छु उहाँले भन्नुभयो । पहिले पहिले यहाँ मकै र धान खेती हुन्थ्यो पछि जग्गा बाँझो भयो, यो देखेर विषदी रहित तरकारी उत्पादन गर्ने ईच्छा जागेको उहाँ सुनाउनुहुन्छ ।

आफ्नो इच्छाले काम गर्दाको मज्जा, दैनिक काम गर्दा स्वास्थ्यमा आउने फुर्ति र आफ्नै माटो, प्रकृति संग रम्न पाउँदाको मज्जा सम्झदा मनै आनन्दित हुने सविनाको भनाई छ । आफ्नो सानो प्रयासले बाँझो रहेको जमिनको प्रयोगमा आएको छ । यसले मलाई त फाइदा भएको छ नै वजारमा विषादी रहित तरकारी समते उपलव्ध गराउन सकेको छु ।

श्रीमान, १० बर्ष र २८ महिनाको २ वटा छोरासँगै बस्दै आउनुभएकी सविनाका श्रीमान नेपाली सेनामा हुनुहुन्थ्यो । श्रीमानले १७ बर्ष देशको सेवा गरी बैदेशिक रोजगारमा जाने भनि उक्त जागीर छोडेर आउनुभयो, तर कोरोनाले गर्दा बैदिशक रोजगारमा जान नपाएको उहाँ भन्नुहुन्छ । अधिकाँश नेपालीहरु बढी विदेश जाने सौखिन भएर नेपाली भुमि छोडी विदेशिएको बताउनु भयो । युवा जनशक्ति विदेश पलाएन हुने र श्रीमती, छोरा छोरी शहर बजारमा लगेर राख्ने हुँदा गाँउ घर रित्तिदै गएको सविनाले बताउनुभयो ।

विदेश पलायन हुने युवाहरु र ठूला ठूला सहर पसेका स्थानियलाई आफ्नै देश, आफुनै ठाउँमा पाखुरा चलाएर सुन फलाउन सक्ने उदाहरण दिन आफुले तरकारी खेती शुरु गरेको बताउनु भयो । उहाँले भन्नुभयो, आफ्नै गाँउ ठाँउमा पनि प्रसस्त मात्रमा आम्दानीको स्रोत र सम्भावना हुँदा पनि युवा जनशक्ति विदेश पलायन हुनुले देशको विकास हुन नसकेको हो ।

श्रेष्ठ भन्नु हुन्छ “धेरै पढेर देशको सेवा गर्ने ठूलो रहर थियो तर पारिवारीक स्थिती र सानो उमेरमा विवाह भएको कारण पढ्न पाइन तर पनि अहिले श्रीमान र परिवारको माया र साथले व्यवसायीक तरकारी खेतीमा नै धेरै खुशी छु ।” व्यावसायिक तरकारी खेतीले जीवनशैली नै बदलिएको श्रेष्ठको भनाइ छ । तरकारी खेती गर्नका लागि जिल्लामा क्रियाशिल गैरसरकारी संस्था ग्रामिण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालले पनि राम्रो सहयोग गर्दै आएको उहाँ बताउनुहुन्छ ।

सविनाको घरमा गाई १, भैसी २, बंगुर २ र बाख्रा ६ वटा र ३ सय वटा कुखुरा छन् । त्यही गाई भैसीको मल र गहुँत तरकारी खेतीमा प्रयोग हुन्छ, “यहाँ उत्पादन भएको तरकारी बेसीशहर र उदीपुर बजारमा पु¥याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हामीले उत्पादन गरेको तरकारी कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था छ । निश्चित मुल्य भन्दा पनि व्यापारीले भनेको मूल्यमा दिनुपर्ने अवस्था रहेरको उहाँ वताउनुहुन्छ ।

व्यसायिक तरकारी खेती गरेपछि आर्थिक समस्या भोग्नु नपरेको र परिवार चलाउन पनि सहज भएको उहाँले बताउनुभयो । सविनाले बेसीशहर नगरपालिकाबाट उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार समेत पाउनुभएको छ । भदौ १० गते बेसीशहर नगरपालिकाले आयोजना गरको कृषक सम्मान कार्यक्रममा नगरपालिकाबाट सम्मानपत्र सहित १० हजार नगदले पुरस्कृत हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्