स्पेन विश्वविजेता बन्दा चम्केकी ओल्गा



मेड्रिड, (एजेन्सी) । गत साता स्पेनले पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि उचाल्यो । योसँगै पुरुष र महिला गरी दुवै फिफा विश्वकपको उपाधि जित्ने स्पेन दोस्रो राष्ट्र बन्यो । यसअघि जर्मनी मात्र पुरुष र महिला विश्वकप उपाधि जित्ने एक मात्र राष्ट्रको रुपमा परिचित थियो । जसमा अब स्पेनको नाम पनि जोडिएको छ । जर्मनीले सन् २००३ र २००७ गरी लगातार दुई पटक उपाधि जितेको थियो ।

स्पेनले विश्वकप जित्नसाथ जितको उन्मादमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस रूबियल्सले मैदानमै खेलाडीलाई ओंठमा गरेको चुम्बनले पनि ठूलै काण्डको रुप लियो । जसका कारण अध्यक्ष रूबियल्स फिफाको निलम्बनमा परे भने टिमका अन्य केही सदस्यहरुले पनि राजिनामा दिए । एकातिर महिला खेलाडीलाई गरेको चुम्बनको घटनाले ठूलै रुप धारण गर्दा अर्कोतिर स्पेनिश टोलीमा २३ वर्षीय खेलाडी ओल्गा केरमोनाको सशक्त खेलले धेरैको ध्यान खिच्यो । अष्टे«लिया र न्युजिल्यान्डमा संयुक्तरुपमा आयोजना भएको महिला विश्वकप २०२३ मा उत्कृष्ट प्रदर्शन गरेर उनी एकाएक चर्चाको शिखरमा पुग्न सफल भइन् ।

स्पेनिस महिला फुटबल टोलीकी स्टार रुपमा उदाएकी फुटबलर ओल्गाले विश्वकपको सेमिफाइनल र फाइनलमा गरेको निर्णायक गोलका कारण उनी यतिबेला महिला फुटबलकी नायिका बन्न पुगेकी छन् । स्पेनको महिला राष्ट्रिय फुटबल टोलीमा विंगर, बायाँ विंगर र विंग ब्याक पोजिसनबाट खेल्न माहिर ओल्गाले विश्वकपको नवौं संस्करणमा पहिलो पटक स्पेनलाई फाइनलमा पु¥याउन र उपाधि दिलाउन जुन किसिमको उत्कृष्ट प्रदर्शन गरिन्, त्यो अहिले आम फुटबल प्रेमीहरुको लागि सम्झनलायक बन्न पुगेको छ ।

स्पेनलाई पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि दिलाउन ओल्गाले इङ्गल्याण्डविरुद्ध निर्णायक गोल गरेकी थिइन् । सोही गोलका कारण उनी रातारात महिला फुटबलकी स्टार भएर उदाईन् । ओल्गाले फाइनल खेलको २९औं मिनटमा दर्शनीय गोल गरेकी थिइन् । उनले फाइनल खेलमा पहिलो अर्थात् निर्णायक गोल गरेपछि खुशी मनाउने क्रममा जर्सी उठाएर सेलिब्रेसन गरेको दृश्य भाइरल बन्यो । साथै ओल्गाले भित्र लगाएको स्पोर्ट्स सर्टमा मेर्ची लेखिएको थियो । जुन उनको पूर्व स्कुलको नाम हो ।

ओल्गा सन् २०१५ विश्वकपपछि कार्ली लायडपछि सेमिफाइनल र फाइनलमा गोल गर्ने स्पेनकी पहिलो खेलाडी समेत बनिन् । ओल्गाले सेमिफाइनलमा स्वीडेनविरुद्ध ८९औं मिनेटमा निर्णायक गोल गरेकी थिइन् । ओल्गाले सेमिफाइनलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण फाइनल अघि नै विश्वव्यापी रुपमा लोकप्रियता कमाउन सफल भइन् । सेमिफाइनलमा गरेको निर्णायक गोलका कारण सामाजिक सञ्जालमा उनको फ्यान फोलिङ्गमा पनि ब्यापक बृद्धि भएको थियो । ओल्गाले कलिलो उमेरमै स्पेनको सेभिया क्लबबाट खेल करियर सुरु गरेकी हुन् । सन् २०१७ देखि २०२० सम्म सेभियाबाट खेलेकी ओल्गाले त्यसपछि भने रियल मेड्रिडको महिला टोलीबाट क्लब फुटबल खेल्दै आएकी छिन् । उनले रियलबाट ८२ खेलमा १० गोल गरिसकेकी छन् । त्यस्तै, स्पेनको राष्ट्रिय टोलीमा भने २०२१ देखि जोडिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्