सात गोलको रोमाञ्चकमा बार्सिलोनाको जित



लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा बार्सिलोनाले सात गोलको रोमाञ्चक खेलमा संघर्षपूर्ण जित निकालेको छ ।

आईतबार भिल्ला रियलको मैदानमा कुल सात गोल भएको खेलमा बार्सिलोनाले ४–३ गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउने निर्णायक गोल भने रोबर्ट लेवान्डोस्कीले गरेका थिए । त्यसको तीन मिनेट अघि फेरान टोरेसले बराबरी गोल फर्काएका थिए । खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोली भिल्ला रियलले खेलको ५०औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता लिएको थियो । जसमा घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले लगातार तीन गोल गरेका थिए ।

खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो । जाभीले गोल गर्ने क्रममा लामिनी यामलको पास सदुपयोग गरेका थिए । यामल स्पेनिस लिगको २१औं शताब्दिमा गोलका लागि अन्तिम पास उपलब्ध गराउने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । उनी भर्खर १६ वर्ष डेढ महिनाका छन् । बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट सात अंक जोडेको छ ।

नापोलीको जित

त्यसैगरी इटालियन सिरी ए को खेलमा नापोलीले जित्यो भने युभेन्ट्सले अंक बाँडेको छ । घरेलु मैदान डियगो म्यारोडोना रंगशालामा नापोलीले सासुओलोलाई २–० ले हराएको हो । आइतबार राति भएको सो खेलमा नापोलीलाई जिताउन भिक्टोर ओसिम्हेन र जिओभानी डि लोरेन्जोले समान एक–एक गोल गरेका थिए । खेलको ६०औं मिनेटमा जिआकोमो रास्पाडोरीले पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् । लगातार दोस्रो जितपछि नापोली शीर्ष दुईभित्र छ । पराजित सासुओलो पुछारमा छ ।

अर्काे खेलमा युभेन्ट्स बोलोग्नासँग १–१ गोलको बराबरीमा रोकियो । घरेलु मैदान एलियन्जमा भ्रमणकारी टोली बोलोग्नाले अग्रता बनाएको थियो । लेविसले २४औं मिनेटमा गोल गर्दा डुसान भ्लाहोभिकले ८०औं मिनेटमा गोल गर्दै टोलीको हार टारेका हुन् । युभेन्ट्सले दुई खेलबाट चार अंक जोडेको छ । बोलोग्नाको एक अंक छ ।

केन जर्मनीमा चम्के

इंग्लिस फुटबल टोलीका कप्तान हेरी केन चम्किँदा बायर्न म्युनिखको जित भएको छ । बुन्डेसलिगामा डेब्यु गरेकै खेलमा केनले दुई गोल गरेका हुन् । उनको सहयोगमा बायर्नले एफसी अग्सबर्गलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । केन प्रिमियर लिग टोली टोटनहामबाट बायर्नमा स्थानान्तर भएका हुन् । उनले जितपछि सोसल मिडियामा बताए—आज समर्थकको अगाडि दुई गोल गर्न पाउँदा विशेष महसुस भएको छ । आज महान खेल भयो ।

प्रतिक्रिया दिनुहोस्