मायमीको जितमा मेसीको डेब्यु गोल



वाशिंटन, (एजेन्सी) । अर्जेन्टिनी कप्तान लियोनल मेसीले मेजर लिग सकर (एमएलएस) मा डेब्यु गोल गरेको खेलमा इन्टर मायामीले न्युयोर्क रेडबुल्स हराएको छ ।

आइतबार विहान सम्पन्न खेलमा मायमीले न्युयोर्क रेडबुल्सलाई २–० गोलअन्तरले हराउँदा मेसीले एक गोल गरेका हुन् । इन्टर मायमीलाई एउटा उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका लियोनल मेसीले मेजर लिग सकर (एमएलएस) मा डेब्यू गरेका हुन् । मेसीले एमएलएसको डेब्यू खेलमै गोल गरेपछि मायमी विजयी भएको हो । मेसी यस खेलमा सुरुवाती ११ मा परेका थिएनन् । प्रशिक्षक जेरार्डो मार्टीनोले उनलाई विश्राम दिएका थिए । मेसीको बिना मैदानमा उत्रिएको मायमीले राम्रो खेल प्रदर्शन गरेको थियो । मायमीले ३७औं मिनेटमा अग्रता लियो। डिएगो गोमेजले नोआह एलेनको पासमा सटिक फिनिश गर्दै मायमीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

मेसी खेलको ६०औं मिनेटमा मैदान भित्रिदै अमेरिकी शीर्ष श्रेणीको लिगमा आफ्नो डेब्यु गरेका थिए । मैदानमा थोरै समयका लागि भित्रिएपनि उनले गोल गर्दै आफ्नो टिमको जीत सुनिश्चित पारे । खेलको ८९औं मिनेटमा जोर्डि अल्बाको उत्कृष्ट पास मेसीले पेनाल्टी बक्स भित्र पाएका थिए । त्यसपछि उनले चार डिफेन्डरलाई जिल्याउंदै बेन्जामिन क्रेमासीलाई थ्रु–बल दिए । त्यसपछि क्रेमासीले नै पुनः मेसीलाई नै खाली रहेको अवस्थामा पास दिएपछि मेसीले सहज गोल गरे ।

यसै सिजन मायमीमा आबद्ध भएका मेसी र उनका पूर्व क्लब बार्सिलोनाका केहि सहकर्मी मायमीमा आबद्ध भएसँगै टोलीले उच्च प्रदर्शन गरेको छ । मेसीको यो समेत अमेरिकामा ९ खेलमा ११औं गोल हो । उनले यस अघि लिग्स कप र युएस ओपन कपमा आफ्नो सहभागिता जनाइसकेका छन् । उनकै नेतृत्वमा मायमीले इतिहासको पहिलो उपाधि समेत जितेको थियो । जितसँगै मायमी एमएलएस पूर्वीय कन्फरेन्सको पुछारबाट माथि उक्लेको छ । २३ म्याच खेलेको मायमीको २१ अंक रहेको छ । टोली अझै रेलिगेशन क्षेत्रमै छ । एमएलसमा २९ टोलीको सहभागिता छ । मायमी पुछारबाट तेस्रो स्थानमा छ । यसअघिका ११ खेलमा लगातार हारेको मायमीको अहिले २१ अंक भएको छ । अमेरिकी लिगमा रहेका टिमहरू दुई कन्फरेन्समा विभाजित रहेर लिग खेल्ने गर्छन् । हरेक कन्फरेन्सबाट ९ टिम प्लेअफमा प्रवेश पाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्