महिला खेलाडीलाई चुम्बन गर्ने लुईस निलम्बित



लन्डन, (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस रुबियल्सलाई निलम्बन गरेको छ ।

फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलपछि पुरस्कार वितरण समारोहमा आफ्नी एक खेलाडीलाई जबर्जस्ती चुम्बन गरेको कारण फिफाले लुईसलाई निलम्बन गरेको हो । गत साता आईतबार अष्ट्रेलियाको सिड्नीमा सम्पन्न महिला विश्वकपको फाइनलमा स्पेनले इङ्गल्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भएको थियो । त्यसपछि पुरस्कार वितरण समारोहमा लुईसले आफ्नी खेलाडी जेनी हर्मोसोलाई जबर्जस्ती ओंठमा चुम्बन गरेका थिए ।

अध्यक्ष लुईसको त्यस्तो गतिविधिपछि उनको चौतर्फी आलोचना भएको थियो । उनको चौतर्फी आलोचनापछि फिफाको नियमअनुसार कारवाहीको प्रक्रिया अघि बढाउँदै अनिश्चितकालिन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । फिफाले लुईसलाई शुरुमा ९० दिनको लागि प्रतिबन्ध लगाउँदै स्पेनिस फुटबल महासंघ र हर्मोसोलाई लुईसँग सम्पर्कमा नआउन समेत आदेश दिएको छ । बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्