तरकारीको मूल्यमा ठूलो अन्तर



यति बेला वर्षाको मौसम छ । सामान्यतया यो समयमा तरकारीको उपलब्धता सहज हुने गर्दछ । स्वाभाविकरूपमा आपूर्ति उच्च भएपछि मूल्य घट्ने अर्थशास्त्रको सिद्धान्त हो । तर हिजोआज गोलभेँडा, प्याज, साग, काउली, बोडीलगायतका तरकारीको उपभोक्ता मूल्य उच्च रहेको छ । मूल्य उच्च हुनु भनेको कि आपूर्ति कम छ, कि बिचौलियाले नाफा बढी लिएका छन् भन्ने संकेत गर्दछ । अहिलेको सिजनमा अधिकांश उपभोक्ता आफैँकहाँ पनि धेरथोर हरियो तरकारी उत्पादन हुन्छ । सबैतिर उत्पादन हुँदा बजारमा माग कम भई मूल्य पनि घट्नुपर्ने हो तर काठमाडौंलगायतका शहरमा यसको ठीक विपरीत तरकारीको भाउ महँगो हुँदै गएको छ ।

तरकारीको भाउ उच्च हुँदा उपभोक्तालाई असर गरेको भए पनि किसानले भने पर्याप्त मूल्य पाउन सकेका छैनन् । यसको मुख्य कारण बिचौलियाले नाफा बढी लिँदा उपभोक्ता र उत्पादक दुवै मारमा पर्ने नेपालको पुरानो व्यथा हो । अहिले प्याजको भाउ उच्च छ । भारतले प्याज निर्यातमा कडाइ गरेसँगै नेपाली बजारमा प्याजको भाउ उच्च भएको हो । भारतको वित्त मन्त्रालयले अघिल्लो शनिबारदेखि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको थियो । भारतले निर्यातमा कडाइ गरेसँगै नेपालमा झन्डै पाँच दिनसम्म भारतबाट प्याज निर्यात भएन । बजारमा प्याजको भाउ उच्च भयो । मागसमेत सामान्य रहेको अवस्थामा भाउ उच्च हुनु भनेको बिचौलियाले धेरै नाफा लिए भन्ने स्पष्ट हुन्छ ।

प्याजबाहेक अहिले गोलभेँडाको भाउ पनि उच्च रहेको छ । गोलभेँडाको उत्पादन नेपालमा पनि राम्रो भएको हुनाले नेपाली किसानले यसपटक उच्च भाउ पाएका छन् । उपभोक्ता भने यसमा पनि मर्कामा परेको देखिन्छ । बजारमा प्याजलगायतका तरकारीको भाउ उच्च भएको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी तरकारी तथा फलफूल बजारलगायतका क्षेत्रमा बजार अनुगमन गरी केही व्यवसायीलाई जरिबाना तिराए पनि तरकारीको भाउ नियन्त्रणमा आउन सकेको छैन । अहिले बजारमा गोलभेँडा, प्याजलगायतका तरकारीको भाउ उच्च रहेको छ । अघिल्लो शुक्रबारसम्म ६० रुपियाँ प्रतिकिलोको भाउमा खरिद गरिएको प्याज अहिले १०५ रुपियाँको हाराहारीमा कारोबार हुँदै आएको छ । त्यस्तै गोलभेँडा पनि १२५ रुपियाँभन्दा माथि रहँदै आएको छ । यस्तो अवस्थामा किसानले कति मूल्य पाएका छन् भन्ने प्रश्न महत्वपूर्ण रहेको छ ।

किसानले मूल्य नपाउने, उपभोक्ताले बढी तिर्नुपर्ने बाध्यतालाई नियामक निकायको निगरानी जरुरी छ । कारोबारमा नाफा लिनु जायज हो तर अधिक मुनाफा राख्नु भने कानुनीरूपमा दण्डनीय रहेको छ । अहिले त्यस्तै भएको छ । किसानसँग खरिद गरेको मूल्यभन्दा कैयौँ बढी मूल्यमा उपभोक्ताले खरिद गरेका छन् । किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यको बीचमा रहेको ठूलो अन्तरलाई कम गर्नुपर्ने सरोकारवाला निकायको दायित्व हो । अहिले सरोकारवाला निकायले आफ्नो दायित्व कुसलतापूर्वक निर्वाह गरेको देखिँदैन । यसले गर्दा किसान र उपभोक्ता दुवै पीडित रहेको अवस्था छ । हुन त तरकारी छिटो बिग्रिने वस्तु भएकाले यसमा ‘मार्जिन’ धेरै राख्नुपर्ने दाबी आउन सक्छ । तर, नियामक निकायले यसमा आफ्नो स्पष्ट दृष्टिकोण र अनुगमनलाई तीव्रता दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्