त्रिशूली बस दुर्घटनाका मृतकको सनाखत



काठमाडाैं ।

त्रिशूली बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये चार जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार सनाखत भएका चार जनामा जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका-३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका-१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका-८ का अन्दाजी २४र२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४/२५ वर्षका सुमन थापा छन्। ‍

बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको डिएसपी जैसवारले जानकारी दिए। आज बिहान काठमाडौंबाट पोखरा हुँदै बेनी जान लागेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा १५ जना घाइते भएका छन्। तीमध्ये १४ जनालाई काठमाडौं रिफर गरिएको छ। उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेहरूमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको रघुगंगा गाउँपालिका- ७ का २९ वर्षीय प्रविन पुन र परिचय नखुलेका थप तीन जना छन्।

काठमाडौं रिफर गरिएका घाइतेहरूमा पर्वतको ‍मोदी गाउँपालिका-१ का ४१ वर्षीय गुरूदत्त पौडेल, बसका चालका म्याग्दीको बेनी नगरपालिका-६ का ३० वर्षीय दिपक थापा, वेनी नगरपालिका-३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका-१ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका-९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका-२ का १६ वर्षीया गीता जग्जाली छन्।

त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, ३२ वर्षीय बंगलादेशी नागरिक मोहमद हजिरहुल र म्याग्दीको रघुगंगा गाउँपालिका-६ की २३ वर्षीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको डिएसपी जैसवारले जानकारी दिए।

उनीहरूको अवस्था मध्यम रहेको पनि उनले बताए। दुर्घटनामा बागलुङ गलकोटकी ६८ वर्षीया ज्ञानु बुढामगर सामान्य घाइते भएकोमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका-६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्धार गरी प्रहरी नियन्त्रणमा लिइएको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखी दुर्घटनाबारे सोधपुछ अनुसन्धान भइरहेको डिएसपी जैसवारले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्