कविर र अभय रजतमै सिमित



काठमाडौं । नेपालका कविर के.सी. र अभय महरा काठमाण्डौमा भएको ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको यु १७ पुरुष युगलतर्फ रजतमै सिमित भएका छन् ।

ब्याडमिन्टन एशियाको आयोजनामा भएको च्याम्पियनसिपको फाईनलमा कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एस.एस.एम.सिफत उल्लाहसंग २१–११, २१–११ को सोझो सेटमा पराजित भएको हो । नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनसिपको यु १७ को पुरुष युगलमा स्वर्ण जिपतेका बंगलादेशका एस.एस.एम. सिफत उल्लाहले पुरुष एकलमा पनि स्वर्ण हात पारे ।

महिला एकलतर्फ श्रीलंकाकी रनिथमा लियाङ्गेले आफ्नै देशका रनुमी मनागेलाई २१–६, २१–८ ले पराजित गर्दै स्वर्ण हात पारिन् । महिला युगल तर्फ पनि रनिथमाले रनुमी मनागेसंग मिलेर अर्को स्वर्ण जितिन् । उक्त जोडीले मालदिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१–६, २१–६ को समान अन्तरले पराजित गर्दै स्वर्ण जितेका हुन् । मिक्स युगल तर्फ श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१–१४, २१–१६ ले पराजित गर्दै स्वर्ण हात पारे ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनसिपको यु १५ तर्फ महिलाको एकलमा श्रीलंकाकी नेथमी रत्नायकले श्रीलंकाकै सिथुली रनसिंघलाई २१–१३, २१–१० ले पराजित गर्दै उपाधी जितिन् । नेथमीले मिक्स डबल्ससमा सेनुथ सेथमिता पेरेरासंग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२–२०, २१–१२ ले पराजित गर्दै आफ्नो लागि अर्को स्वर्ण हात पारिन् ।

प्रतिक्रिया दिनुहोस्