आर्मी हैदराबादसँग पराजित



काठमाडौं । भारतको प्रतिष्ठित डुरान्ड कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आर्मी हैदराबाद एफसीसँग पराजित भएको छ ।

नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको समूहको अन्तिम खेलमा हैदराबाद एफसीसँग ३–० गोलअन्तरको पराजित भएको हो । उक्त पराजयसँगै यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको आर्मीले समूह ‘इ’ मा एक मात्र अंक जोड्न सक्यो । मंगलबार सम्पन्न खेलमा हैदराबादलाई जित दिलाउन आरेन डी’ सुजाले ह्याट्रिक गरेका थिए । खेलको १६औं मिनेटमा डी’ सुजाको गोलमार्फत हैदराबादले अग्रता लिएको थियो ।

त्यसैगरी खेलको २४औं मिनेटमा डी सुजाले नै टोलीको अग्रता दोब्बर बनाए । ६९औं मिनेटमा डी सुजाले ह्याट्रिक पूरा गरेपछि हैदराबादले ३–० को सहज जित निकाल्यो । मेघराज केसीको प्रशिक्षणमा आर्मी पहिलो खेलमा दिल्लीसँग १–० को अग्रता जोगाउन नसक्दा अंक बाँढ्न बाध्य भएको थियो । दोस्रो खेलमा भने चेन्नईसँग ३–० ले पराजित भएको थियो । नवयुग श्रेष्ठको कप्तानीमा आर्मीले पहिलो पटक डुरान्ड कप खेलेको हो । भारतीय सेनाले आयोजना गर्ने डुरान्ड कप १ सय ३२ वर्षे पुरानो प्रतियोगिता हो । नेपाली सेना र बंगलादेश सेनालाई पहिलो पटक प्रतियोगितामा आमन्त्रण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्