जोकोभिचलाई सिनसिनाटी ओपनको उपाधि



लन्डन, (एजेन्सी) । सर्बियन स्टार नोभाक जोकोभिचले सिनसिनाटी ओपन टोनिसको उपाधि जितेका छन् ।

विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस आल्कारेजलाई हराउँदै विश्व नम्बर दुई नोभाक जोकोभिचले सिनसिनाटी ओपन टोनिसको उपाधि जितेका हुन् । अमेरिकाको सिनसिनाटी सहरमा भएको फाइनलमा जोकोभिचले आल्कारेजमाथि ५–७, ७–६(९–७) ७–६(७–४) को सेटमा जित निकालेका हुन् । जोकोभिचको यो ९५औं सिंगल्स उपाधि हो ।

जितसँगै जोकोभिचले गत महिना सम्पन्न विम्बल्डन फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएका छन् । अल्कारेजले गत महिना मात्र जोकोभिचलाई हराएर करिअरकै पहिलो विम्बल्डन उपाधि जितेका थिए । चार घन्टासम्म चलेको फाइनलमा जित हासिल गरेका ३६ वर्षीय जोकोभिचले उक्त फाइनल आफ्नो करिअरकै गाह्रो खेल भएको प्रतिक्रिया दिए । ‘मैले करियरमा धेरै खेल खेले । तर, आजको खेल मेरो लागि निकै कठिन थियो,’ सर्वाधिक ग्रान्डस्लाम जितेका जोकोभिचले बताए ।

सिनसिनाटी ओपन वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन अगाडि खेलिने प्रतियोगिता हो । यसलाई युएस ओपनको तयारीका रुपमा पनि लिइन्छ । युएस ओपन अगस्ट २८ देखि सुरु हुँदैछ । जसमा जोकोभिचले पनि आफ्नो २४औं ग्रान्डस्लाम जित्ने प्रयास गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्