मायमीमा उचाले मेसीले पहिलो उपाधि



वाशिंगटन, (एजेन्सी) । अर्जेन्टिनी स्टार लियोनेल मेसीको कप्तानीमा रहेको इन्टर मायमीले पहिलो पटक उपाधि उचालेको छ ।

यस वर्ष अमेरिकामा भएको लिग्स कप २०२३ को उपाधि मेसीको कप्तानीमा रहेको मायमीले जितेको हो । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासमै पहिलो पटक उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए । यता मायमीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नाशभिलका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथमा लिनुपरेको थियो ।

त्यसपछि पनि अन्य सबै खेलाडीले लगातार गोल गरेपछि ११औं प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए । मायमीका क्यालेन्डरले गोल गर्दा पानिचोको प्रहार विपक्षी गोलरक्षकले बचाए । त्यसअघि निर्धारित समयको अन्तिम प्रहारमा मायमी उपाधि जित्नबाट चुकेको थियो । जोसे काम्पनाले खाली पोस्टमा गरेको प्रहार पोस्टमा लागेर बाहिरीएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।

खेलको २३औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए । तर, नाशभिलका लागि ५७औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए । सन् २०२० मा स्थापित इन्टर मायमीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा संघर्ष गरिरहेको टोलीले लिग्स कपमा भने मेसीको आगमनपछि सानदार प्रदर्शन ग¥यो । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेसीले हरेक खेलमा गोल गरेका थिए ।

मेसी बने सर्वाधिक उपाधी जित्ने खेलाडी

आफ्नो कप्तानीमा अमेरिकी क्लब इन्टर मायमीलाई लिग्स कपको उपाधी जिताएसँगै कप्तान लियोनेल मेसी नयाँ कीर्तिमान कायम गरेका छन् । मेसीले आईतबार मायमीबाट च्याम्पियन भएसँगै सर्वाधिक उपाधी जित्ने खेलाडी बनेका छन् । मेसीले ब्राजिलियन लिजेन्ड डानि आलभेसलाई पछि पार्दै यो कीर्तिमान बनाएका हुन् ।

योसँगै मेसीले आफ्नो करियरमा ४४ वटा उपाधी उचालेका छन् । मेसीले बार्सिलोनाबाट ३५, पिएसजीबाट ३ , अर्जेन्टिनाबाट ५ र मायामीका लागि एउटा उपाधी जितेका हुन् । मेसी यही जुलाई ट्रान्सफर विन्डोमा दुई वर्षको सम्झौतामा पिएसजीबाट मायमी भित्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्