स्पेनको महिला टोली पनि विश्व च्याम्पियन



लन्डन, (एजेन्सी) । स्पेनले अस्टे«लिया र न्युजिल्यान्डमा आयोजित महिला विश्वकप फुटबल प्रतियोगिता आइतबार जितेको छ ।

सिड्नी रंगशालामा भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकालेको हो । यस्तै स्पेनको महिला फुटबल टोली पनि विश्व च्याम्पियन बनेको छ । यसअघि सन् २०१० मा स्पेनको पुरुष फुटबल टोली विश्व च्याम्पियन बनेको थियो । दक्षिण अफ्रिकामा आयोजित यस विश्वकपको फाइनलमा स्पेनले नेदरल्यान्ड्सलाई १–० ले नै हराएको थियो ।

स्पेनलाई यसपटक च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९औं मिनेटमा मोरिओना कालडेन्टेले दिएको पासमा गोल गर्न सफल भइन् । योसँगै ओल्गा विश्वकपको फाइनलमा गोल गर्ने चौथो कान्छी खेलाडी बनिन् । उनी २३ वर्ष ६९ दिनको उमेरकी हुन् ।

विश्वकपमा गोल गर्ने कान्छी खेलाडी अमेरिकाकी एलेक्स मोर्गान हुन् । उनले सन् २०११ को विश्वकपमा २२ वर्ष १५ दिनको उमेरमा गोल गर्दै कीर्तिमान बनाएकी थिइन् ।

त्यसो त ६९औं मिनेटमा स्पेन अग्रता दोब्बर पार्न नजिक पुगेको थियो । तर, जेनिफर हर्माेसोको पेनाल्टी प्रहारलाई इंग्ल्यान्डकी गोलरक्षक मारी अर्प्सले बचाएकी थिइन् । पेनाल्टी बक्समा केइरा वाल्सले हातले बल छुन पुगेपछि रेफ्रीले भिएआरको मद्दतमा स्पेनलाई पेनाल्टी प्रहार गर्न दिइएको थियो ।

स्पेन महिला विश्वकपमा च्याम्पियन हुने पाँचौ राष्ट्र बनेको छ । नवौं संस्करणको समाप्तिसम्म अमेरिकाले सबैभन्दा बढी चार पटक उपाधि जितेको छ । यस्तै जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन् ।

बोनमती उत्कृष्ट खेलाडी

प्रतियोगिताकी उत्कृष्ट खेलाडी स्पेनकी मिडफिल्डर एटाना बोनमती भइन् । गोल्डेन ग्लोभ पुरस्कार भने इंग्ल्यान्डकी गोलकीपर मेरी अप्र्र्सले जितिन् । उनले फाइनलमा पेनाल्टी बचाएकी थिइन् ।

अप्रिय मेनेजर

स्पेनको टोलीका केही खेलाडी मेनेजर जर्ज भिल्डासँग खुशी थिएनन् । युरो २०२२ को क्वार्टरफाइनलमा स्पेन इंग्ल्यान्डसँग पराजित भएको थियो । त्यहीबेला १५ जना खेलाडीले हस्ताक्षर गरी स्पेनी फुटबल महासंघमा मेनेजरविरुद्ध पत्र दाखिला गरेका थिए । उनीहरु भिल्डाको राजीनामा चाहेका थिए । लास फिफ्टीन भनेर चर्चित भएको खेलाडीले उनलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

भिल्डाले बताए कि उनको साथ राष्ट्रिय टोलीको हिस्सा हुने खेलाडीसँग छ । त्यतिबेला उनलाई साथ दिने तीन खेलाडी मात्रै रहेका थिए । यही विश्वकपमा समेत जापानसँग ४–० ले हारेपछि उनीमाथि शंका गरिएको थियो । तर, नकआउट चरणदेखि स्पेनको खेलको लय नै फरक भएको थियो ।

अभागी मेनेजर

सरिना विइगम्यान अभागी मेनेजर सावित भएकी छन् । इंग्ल्यान्डकी मेनेजर सरिना लगातार दोस्रो फाइनल हारेकी मेनेजर बनिन् । उनले गत विश्वकप २०१९ मा नेदरल्यान्ड्सको जिम्मा लिएकी थिइन् । टोली फाइनल पुगेपनि अमेरिकासँग पराजित भएको थियो । यसपटक पनि उनको हातमा उपविजेताको ट्रफी रह्यो ।

प्रतिक्रिया दिनुहोस्