खिजीफलाटे इलाका प्रशासनमा डम्बर र पेशलको रजगज

0
Shares

ओखलढुंगा ।

नागरिकलाई नागरिकता, पासवर्ड लगायत सेवा प्रवाह गर्ने इलाका प्रसाशन कार्यालय खिजीफलाटेमा कार्यालय प्रमुख पेश बिक र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (तत्कालिन इप्रका प्रमुख) डम्बर रजन मगरको रजगज चल्दै आएको छ । उनिहरुले कार्यालय समय सकिएपछि रातीको समयमा इलाका प्रशासनमै खाने, खेल्ने, मैत्रीपूर्ण भेटघानट र भला कुसारीका नाममा अनेकन शंकास्पद गतिविधि गर्ने गरेको खुलेको छ ।

कार्यालय समयपछि खाने, खेल्ने, मैत्रीपूर्ण भेटघानट र भलाकुसारी गर्ने आफ्नो अधिकार भएको भन्दै विज्ञप्ति नै प्रकाशन गरेर आफ्नो कर्तुत उदांगो पारेका छन् । बिक र मगरको गतिविधिका विषयमा समाचारहरु बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको स्ट्याटसलाई लिएर उनिहरुले विज्ञप्तिसहित प्रहरीमा उजुरी गरेर इप्रकामा उनिहरुको विगत देखिनै रजगज चलाउँदै आएको आफैले पुष्टि गरेको स्थानीयहरुको दाबी छ ।

सामाजिक सञ्जाल फेसबुकमा कसैको नाम किटान नगरी ‘ओखलढुंगा खिजी फलाटे इलाका प्रशाशन कार्यालयबाट साँझ ७ बजेपछि सेवा प्रवाहको खवर छ । कर्मचारीहरु जनताप्रति थप जिम्मेवार बनेको देखियो’ भन्ने स्ट्याटसलाई लिएर बिक र मगर अफुले आफैलाई इंगित गर्दै अत्तालिएका छन् । सोही क्रममा उनीहरुले प्रहरीमा उजुरी दिने, विज्ञप्ति प्रकाशन गर्ने र आफ्ना निकटस्थहरुमार्फत सामाजिक सञ्जालबाट गाली गर्ने, फोन गरेर धम्की दिन लगायत हर्कतहरु गरिरहेका छन् ।

साउन ३२ गते राती साढे सात बजेपछि आफ्नो सरोकार नै नभएको कार्यालय (खिजीदेम्बा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत) डम्बर रजन मगर र सोही इलाका प्रशासनका प्रमुख पेशल बिकसहित व्यक्तिहरु सरकारी अड्डामा पसेको थाहा पाएपछि स्थानीयले प्रहरी प्रशासनलाई खवर गरेका थिए ।

गस्तीमा खटिएको प्रहरी टोली त्यहाँ पुग्दा उनीहरु कर्मचारी क्वाटारमा रहेको प्रहरीले जानाएको छ । तर ती कर्मचारीहरु राती किन सरकारी अड्डामा पसे भन्ने अनुसन्धान गर्न प्रहरी प्रशासन समेत मुकदर्शक बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पा र सोही इलाका प्रसाशन कार्यालयसमेत विपक्षी रहेको दोहोरो नागरिकता सम्बन्धी मुद्दा उच्च अदालतमा चलिरहेको र अदालतबाट सक्कल कागजातको प्रमाणीत प्रतिलिपी पेश गर्ने आदेश भएकै भोलिपल्ट रातारात कार्यालयमा कार्यालय प्रमुख बिक र पूर्व कार्यालय प्रमुख रहेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मगरको अनाधिकृत प्रवेशलाई लिएर सिंगो गाउँपालिकाबासीले प्रश्न गरिरहेका छन् ।

सम्बन्धीत प्रहरी प्रशाशन भने उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउनुको सट्टा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको उजुरी तर्दा गराएर निगरानी गरिरहेका छन् । गस्तीमा रहेको प्रहरी टोली आउने थाहा पाएपछि बिक र मगर कार्यालयबाट बाहिरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत मगर जिल्ला सदरमुकाम ओखलढुंगाबाट सोहीदिन खिजीफलाटे पुगेका थिए । गत स्थानीय तहको निर्वाचनताका इलाका प्रशासन प्रमुख रहेका मगरले गाउपालिका अध्यक्ष गम्बु शेर्पालाई नागरिकता प्रमाण्पत्रको प्रतिलिपी दिएका थिए ।

शेर्पा पालिका अध्यक्ष भएसँगै मगरलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर लगिएको थियो । अदालतमा मुद्दा चलिरहेको र आवश्यक सक्कल कागजात मागभएको अवस्थामा कर्मचारीहरु रातारात कार्यालयमा पसेर थप कागजात बनाउने मनसाय देखिएकाले बिक र मगरमाथि अनुसन्धान सहित कारबाही गर्नुपर्ने नागरिकता किर्ते सम्बन्धी मुद्दाका पक्ष भुपेन्द्र बस्नेतले माग गरेका छन् ।