हनुमान कार्यकर्ताले बिगारेका शासक



दोहोरो चरित्र बोकेका शासकहरु सत्तामा छन् । जनतालाई भ्रम दिन उनीहरु माहिर छन् । कार्यकर्ताहरुलाई हनुमान गराइरहेका छन् । आफ्ना नेता तथा आफू निकट शासकहरुले जस्तासुकै हर्कत गरे पनि जयजयकार गर्ने हनुमानहरुको ठूलो ग्याङ हिजो पनि थियो र आज पनि छ । यो ग्याङ सबैभन्दा ठूलो आपराधिक ग्याङको रुपमा रहेको छ । जुन ग्याङले शासकहरुलाई आँखा नदेख्ने दृष्टिविहीनजस्तै बनाइदिने गरेको छ । भूपि शेरचनले भनेजस्तै घुम्ने मेचमाथि बस्ने मान्छेहरुले आँखा देख्न छोडेका छन् । ती आँखा देख्न छोडेका शासकहरुलाई हनुमान कार्यकर्ताहरुले उत्प्रेरित गर्ने गरिरहेका छन् । मुख्य नेताले अलिकति चारा फालिदिएपछि मध्यम नेता ती मुख्य नेताले जतिसुकै अपराध गरे पनि उनीहरुको प्रशंसक बन्ने गरेका छन् । शासकबाट अलिकति जुठोपिरो खान पाएकाहरु शासकहरु अपराधमा जतिसुकै लुट्पुटिए पनि उनीहरुको फ्यान नै बन्न पुगेका छन् ।

हामीकहाँ हनुमान कार्यकर्ताहरुकै कारण शासकहरु पतनतर्फ अग्रसर भइरहेका छन् । उनीहरु पतन हुने बेलासम्मै आफू संसारकै सबैभन्दा राम्रो र उत्कृष्ट भएको भ्रम पाल्न छोड्दैनन् । किनकि उनीहरुकै जुठोपिरो खाएर हुर्किएका हनुमानहरुलाई देश र जनताको खासै वास्ता र माया हुँदैन । कसरी हुन्छ म र मेरा मालिक सम्भ्रान्त र धनाढ्य भइरहन सकिन्छ भन्नेमा नै हनुमान कार्यकर्ता र मध्यम नेताहरुको ध्यान केन्द्रित हुने गरेको देखिन्छ । यसैका कारण उनीहरुले बदमास शासकहरुको पनि जयजयकार गरिरहेका हुन्छन् ।

अहिले गठबन्धनधारी (स्वार्थहरुको तालमेल) ले सत्ता चलाइरहेका छन् । निर्वाचनअघि नै गठबन्धन गरेर आएका यी दलहरुले सत्तालाई शक्ति र धन आर्जनको माध्यममात्रै बनाइरहेका छन् । सरकार गठन भएको सात महिना बितिसक्दासमेत यी शासकहरुले जनताको हितमा माखो मार्न सकेका छैनन् । जनताले वास्तविक सरकार भएको अनुभूति गर्न सकेका छैनन् । तैपनि हनुमानहरु सक्रिय छन्, आफ्ना मालिकको गाथा गाउन ।

मुलुक अन्तर्राष्ट्रिय तस्करहरुको ट्रान्जिट बनिरहेको छ । सय किलो सुन तस्करी यसैको परिणाम थियो । क्वीन्टलका क्वीन्टल सुन तस्करी भइसकेपछि एक क्वीन्टल सुन बरामद गरियो तर सो तस्करीको मुख्य नाइके को हो भन्ने बारेमा शासकहरुले कुनै खोजतलास नै गर्न सकेका छैनन् । उल्टो सत्ताधारी गठबन्धनको बैठक बसेर मुख्य नाइकेलाई केही नगर्ने तर भरिया, एजेन्ट र केही कर्मचारीलाई मात्रै थुन्ने भनेर निर्णय गर्छन् र सोही अनुसार अघि बढ्छन् । यसले के कुराको पुष्टि गर्छ भने, यो प्रकरणमा उनीहरुकै निकट व्यक्तिहरु मुख्य नाइकेको रुपमा छन् । यसको अर्थ त्यसको केही न केही हिस्सा सत्तारुढ दलका नेता तथा शासकहरुसम्म पनि पुगिरहेको छ । यति हुँदा पनि हनुमान कार्यकर्ताहरुले उनीहरुका मालिक दूधले नुहाएको अवस्थामा छन् भनेर भ्रम फैलाउन र बखान गर्न छोडेका छैनन् ।

मुलुक आर्थिकरुपमा निकै कमजोर र जर्जर हुँदै गइरहेको छ । विदेशी ऋणले आम नागरिक नै थला पर्ने भय देखिँदै छ । दैनिक हजारौँ युवाहरु रोजगारीको सिलसिलामा विदेशतर्फ जानुपर्ने बाध्यता छ । गरिब विपन्नहरुको बिहान र बेलुकीको चुल्हो बल्नै मुस्किल हुने गरी महँगी अत्यधिक बढिरहेको छ । आम जनता सुलभ खालको स्वास्थ्य र शिक्षा सेवाबाट वञ्चित छन् । स्वास्थ्य र शिक्षा प्रदान गर्ने सरकारी निकाय निष्प्रभावीजस्तै छन् । तर पनि गठबन्धनधारी दलको बैठकमा यी विषयले खासै प्राथमिकता पाउँदैन् । कार्यकर्ताहरुलाई पनि यस विषयमा खासै मतलब छैन ।

गतवर्ष ल्याइएका कैयौँ नीति तथा कार्यक्रमहरु थाती रहिरहेको अवस्थामा अहिले फेरि त्योभन्दा कैयौँ धेरै योजना समेटेर नीति तथा कार्यक्रम ल्याइएको छ । नीति तथा कार्यक्रम राम्रा छन् तर ती नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जिम्मेवारीमा रहेका राजनीतिक तथा प्रशासनिक नेतृत्व यथास्थितिमा नै रुमलिरहेको देखिन्छ । सरकार गठन भएको सात महिना बितिसक्दासमेत जनताको चेहरामा खुशीका किरणहरु देखिन नसक्नु दुःखद छ । वर्तमान सरकारका अधिकांश मन्त्रीहरु अक्षम साबित भइसकेका छन् । उनीहरु गुमनाम छन् । जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने खालका अग्रगामी कार्यक्रमहरु सक्रियताका साथ लागू गर्न सरकार तथा मन्त्रीहरु असफल देखिएका छन् ।

हाम्रा धेरै मन्त्रीहरु कार्यस्थलको भवनको प्यासेजमा नै अलमलिन पुगेका छन्, मन्त्रीको रुपमा देश हाँक्न आएका राजनीतिक नेतृत्व चराले वेग हानेजस्तै वेग हान्न त खोज्छन् तर उनीहरु प्यासेजका भित्ताहरुमा नै अड्किन पुगेका छन् । यसमा दुई पक्षले काम गरिरहेको छ । एक त मन्त्रीहरुले अत्यधिक मेहनत गरेर मन्त्रालयको कार्य जिम्मेवारीलाई कडाइका साथ व्यवहारमा उतार्न सकिरहेका छैनन । अर्कोतर्फ मन्त्रीलाई सघाउने महत्वपूर्ण जिम्मामा रहेको ब्युरोक्रेसीले भित्रीरुपमा सहयोग गरेका छैनन् वा एकले अर्कालाई सहयोग गर्ने उपयुक्त वातावरण बन्न सकिरहेको छैन ।

मन्त्री भएर आएपछि अधिकांश मन्त्रीहरुले कार्यविभाजन नियमावली अनुसार आफ्नो मन्त्रालयले गर्नुपर्ने कार्य जिम्मेवारीसमेत राम्ररी अध्ययन नगरेको पाइएको छ । मन्त्रीहरु मन्त्रालयको जिम्मेवारी अनुसारका महत्वपूर्ण योजना र कार्यक्रम ल्याउनभन्दा पनि विभिन्न खाले गोष्ठी, उद्घाटन र कार्यक्रममा सहभागी हुने गरेका छन् ।

प्रधानमन्त्री, मन्त्री र उच्च पदाधिकारीहरु सानातिना कार्यक्रमको उद्घाटनमा अल्झिनुभन्दा पनि योजना बनाउन, छलफल र बहस गर्नमा नै व्यस्त हुँदा उनीहरुकै लागि फाइदाजनक हुनेछ । तर उनीहरुलाई यस्तो सल्लाह कसले दिने ? यस्तो काम गर्दा कहीँ–कतैबाट अतिरिक्त कमाई हुँदैन । त्यसैले उनीहरुको आसेपासेले शासकहरुलाई त्यस्तो सल्लाह दिने गर्दैनन् । तलब दिएर राखिएका सल्लाहकार पनि कसरी हुन्छ बिचौलिया र माफियासँग सेटिङ गरेर पैसा कमाउन सकिन्छ भन्ने धन्दामा नै लागेको देखिन्छ । सरकारले अघि सारेको नीति तथा कार्यक्रमबमोजिम ब्युरोक्रेसीले प्रतिबद्धताका साथ जनतासमक्ष सेवा प्रवाह गर्न सकेको छैन । ब्युरोक्रेसीको काम नै प्रणाली अनुसार सेवा प्रवाह प्रभावकारीरुपमा दिने नै हो । तर अहिले जतासु्कै सरकारका विषयहरु सुनिएका मात्रै छन् । सरकारलाई जनताले सुने पनि सरकार के हो भनेर वास्तविक अनुभूत गर्ने गरी देख्न सकेका छैनन् । जनतालाई सरकारको अनुभूत गराउने मुख्य भूमिका प्रशासनको हो । सरकारको काम याक्सनमा लैजाने भनेकै कर्मचारी प्रशासनले हो ।

‘द गभरमेन्ट इनटु एक्सन’ भन्ने बित्तिकै सेवा प्रवाहको कुरा आउँछ । सेवा प्रवाह दिलाउने काम निजामती प्रशासन र अन्य सरकारी सेवाको हो । जनतालाई प्रदान गर्ने सेवाहरु, विकास प्रवाहको विषय, सुशासनको विषय, जवाफदेहिता, पारदर्शिता, यी सबै विषयले उच्च प्राथमिकता पाउनुपर्छ । विगतका शासकीय प्रणालीहरु असफल हु्नुमा राजनीतिक नेतृत्वको अक्षमताका साथसाथै कर्मचारीतन्त्रको अक्षमता पनि उत्तिकै कारण हो । । सेवा प्रवाह गर्ने प्रायः सबै निकायका कर्मचारीहरु बिचौलियाको घेराबन्दीमा छन् । मन्त्रीहरुले कुनै सुधारको योजना ल्याए भने ती बिचौलियाबाट प्रभावित बनेका कर्मचारीहरुले भित्रीरुपमा नै असहयोग गरी मन्त्रीलाई असफल पारिदिने गरेका छन् । यद्यपि हामीकहाँ सुधारका कार्यक्रमलाई कडाइका साथ एक्सनमा लैजान सक्ने मन्त्रीहरुको खडेरी नै छ । कुशासनको चक्रमा फसेका मन्त्रीहरुमाथि प्रधानमन्त्रीले कारबाही गर्न नसक्नुले प्रधानमन्त्रीको बोली र गराइमा तारतम्यता देखिन सकेको छैन । यस्तो अवस्था हुँदा पनि हनुमान कार्यकर्ताहरुले भने उनका प्रधानमन्त्री र मन्त्रीहरुले विश्वमै सबैभन्दा उत्कृष्ट काम गरिरहेको भनेर ट्वारट्वार गर्न छोडेका छैनन् ।

निर्णय गर्दा आफ्नो स्वार्थ हेर्ने प्रवृत्ति पनि उस्तै छ । को कति मेरिट र क्वालिटीको छ भनेर छान्न राजनीतिक नेतृत्व असफलजस्तै देखिएको छ । कुनै महत्वपूर्ण ठाउँमा नियुक्ति दिँदासमेत योग्यता, दक्षता र क्षमता हेरिँदैन । कसले सबैभन्दा नजिकबाट चाकडी गरिरहेको छ र अन्धभक्तपन देखाइरहेको छ, त्यसैलाई नियुक्ति दिने प्रवृत्ति शासकहरुमा व्यापक छ । उनीहरुले जतिसुकै गल्ती गर्दा पनि जयजयकार गर्नेहरुले नै नियुक्ति पाउने गरेका छन् । याने कि शासक नेता र भक्त कार्यकर्ताबीच स्वार्थहरुको बेजोड मिलन देखिन्छ ।

पछिल्ला वर्षहरुमा राजस्व उठ्ने क्रममा निकै कमी आइरहेको छ । अनुमान गरेभन्दा धेरै कम राजस्व उठिरहेको छ । यस्तो दुर्भाग्यपूर्ण अवस्था आउनु मुलुककै लागि दुःखद हो । यस्तो अवस्था आउनुमा धेरै पक्षले काम गरेको छ । । राजस्व क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । सामानहरुमा मिलेमतोमा नै न्यून मूल्याङ्कन गरेर राष्ट्रलाई अर्बौं रुपियाँको ठगी गर्ने काम भइरहेको छ । भन्सारमा २ सय ५० मूल्याङ्कन भएका सामानहरु बजारमा १० हजारभन्दा बढीमा बिक्री भइरहेको दुःखदायी अवस्था छ । भन्सार २ सय ५० कै तिर्ने, भ्याट २ सय ५० कै तिर्ने तर सामान १० हजारमा बिक्री गर्नेजस्तो राजस्व ठगी गर्ने खतरनाक चरित्र अहिले पनि छ । यो सबै शासकहरुकै सेटिङको परिणाम हो ।

राजस्व राम्ररी उठाउने हो भने वैदेशिक सहायता लिनुपर्ने अवस्थाबाट देशलाई मुक्त पार्न सकिन्छ । नेता, शासक, व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यलाई ठग्ने काम भइरहेको छ । कर्मचारीको मिलेमतोमा राजस्व उठाउने क्षेत्रमा, विकास निर्माण र सडक–पुल बनाउने निकायमा, प्रहरी, न्यायालय, अर्थ, गृहजस्ता निकायमा नीतिगत भ्रष्टाचार अत्यधिक छ । राज्यबाट अर्बौं रुपियाँको ठेक्का पाएका निर्माण व्यवसायीले प्रभावकारी काम गर्न सकेका छैनन् । उनीहरुको कामको नियमित अनुगमन हुँदैन । दलहरु र ठूला नेताहरुलाई चन्दा दिएर र आर्थिक सहयोग गरेर आफ्नो बनाएका छन् । ठूला कर्मचारी र राजनीतिक नेतृत्वसँग उनीहरुको नेक्सस छ । यदि मुलुकको विकास र सुशासन कायम गर्ने हो भने अब मन्त्रीहरुले मात्रै होइन, सार्वजनिक निकायमा बस्ने सबै कर्मचारी तथा पदाधिकारीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कानुन तर्जुमा गर्नुपर्छ । अहिले सम्पत्ति विवरण बुझाउने मात्रै गरिन्छ तर गोप्य राख्ने गरी । त्यसको कुनै अर्थ छैन । सबै कर्मचारी, न्यायाधीश, प्रहरी, सेना, शिक्षक, जनप्रतिनिधिहरु, सार्वजनिक संस्थानका पदाधिकारीलगायत राज्यकोषबाट तलब खाने सबैको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्छ । पारदर्शिताको लागि हरेक वर्ष सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नै पर्छ । अब शासक तथा नेताहरुलाई सुधार्न उनका हनुमान कार्यकर्ताहरुले पनि भूमिका खेल्नै पर्छ । यसको लागि पहिलो उनीहरु सुध्रिनुपर्छ, सबै खाले पूर्वाग्रहबाट मुक्त हुनुपर्छ । आफ्ना शासक तथा नेताहरुले गल्ती गरेमा प्रश्न गर्ने र प्रतिवाद गर्ने परिपाटीको विकास गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्