ठूलो आलु उत्पादक कृषकलाई पुरस्कार !

0
Shares

दोलखा । 

आलु उत्पादनको महत्त्वपूर्ण केन्द्र दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ शैलुङले दोस्रो आलु प्रवर्द्धन कार्यक्रम– २०८० सम्पन्न गरेको छ । कार्यक्रममा सबैभन्दा ठूलो र स्वस्थ आलु उत्पादन गर्ने कृषकलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा सहभागी मध्य सबैभन्दा ठूलो ३ दशमलव १८८ केजीको आलु उत्पादन गर्ने शैलुङ मनगाँउका कृषक भम्बु बहादुर कार्की प्रथम भएका छन् । त्यसैगरी ३ दशमलव ०७८ केजीको आलु उत्पादन गर्ने झोरका कृषक केशव श्रेष्ठ द्धितिय, २ दशमलव ७४१ केजीको आलु उत्पादन गर्ने मनगाँउका कृषक विशाल श्रेष्ठ तृतीय र २ दशमलव ७११ केजीको आलु उत्पादन गर्ने झोरका प्रमीला परियार सान्त्वना भएको वडा नम्बर ८ का वडा अध्यक्ष धनबहादुर तामाङले बताए ।

कार्यक्रममा सहभागी मध्य १ दशमलव ८८४ केजीको आलु उत्पादन गर्ने मीन बहादुर विश्वकर्मालाई सहभागीको रुपमा पुरस्कृत गरिएको वडा नम्बर ८ का कर्मचारी दीपेश श्रेष्ठले बताए ।

दोलखामात्र नभै देशभरीनै उत्कृष्ट आलु मानिएको शैलुङको मनगाँउ, झोर, ढाडे, पाडेखानी लगायतका क्षेत्रका कृषकलाई प्रोत्साहित गर्न र उत्पादीत आलु प्रवर्धनको लागि आलु प्रवर्द्धन कार्यक्रम २०८० को आयोजना गरी कृषकहरुलाई पुरस्कृत गरिएको वडा अध्यक्ष धनबहादुर तामाङ बताउँछन्  ।

पहिलो पटक २०७९ मा आयोजना गरिएको आलु प्रवर्द्धन कार्यक्रमले कृषकहरुलाई उत्साहित बनाएको र आलु प्रवर्धनमा समेत सहयोग पुगेकोले यसलाई निरन्तरता दिइएको वडा अध्यक्ष तमाङको भनाई छ।

 कार्यक्रममा वडा नम्बर ८ शैलुङको मनगाँउ, झोर, ढाडे र पाडेखानीका ३० जना कृषकहरुको सहभागिता रहेको वडाका कर्मचारी दीपेश श्रेष्ठले जानकारी दिए ।