जापानमा नेपथ्यको घिनिनिनी तिनिनिनी घिनिनिनी तिनिनीनी तिनिनिनी घिनिनिनी!



लोकप्रिय सांगीतिक समूह नेपथ्यको कन्सर्टका क्रममा मंगलबार बेलुकी जापानको तोयोसु पिट हलमा सबैभन्दा पहिलो मादलको ध्वनि थियो यो। पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको तालमाथि बजाइएको मादलको यो कर्णप्रिय धुनमा संगीतप्रेमीहरू मज्जाले रमाए। त्यसलगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च ध्वनिका बीच गायक अमृत गुरुङले गाउन शुरु गरे

कोशीको पानी यो जिन्दगानी सललल जाई जाने हौ हजुर
आमाको कोखमा बास मात्रै लिएँ नि कुन देशको मरन हौ हजुर।

स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको जापानबाट नेपथ्यले जनाएको छ।

त्यो क्रमलाई भेडाको ऊनजस्तोले झनै तीव्रता दिएको र त्यसपछि आप्mनो सर्वकालीन हिट गीत छेक्यो छेक्यो गाउञ्जेल ब्यान्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको पनि नेपथ्यले जनाएको छ। त्यसपछि अमृतले दर्शकसँग संवाद गरे ‘यो तीन दशकभन्दा लामो यात्रामा तपाईंहरूको नेपथ्य ब्यान्डले धेरै अनुभव पनि बोकेको छ। यो टोकियो भूमिमै हाम्रो समूहका साथीहबीच साँगीतिकदेखि मिलन विछोडसम्मका अनेक याद छन्।’ ब्यान्डका पुराना सदस्यहरूलाई सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए
आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपी राखे है।

अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरूको तस्वीर प्रदर्शन गरिएको थियो।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीको उपस्थितिसँगै केही जापानी अनुहार पनि थिए। कार्यक्रमको मध्यतिर यो जिन्दगानी गीत सुनाउनुअघि अमृत फेरि बोल्न तम्सिए। ‘समाजले व्यहोर्नुपरेका अनेक चुनौतीकै क्षण हामीले आप्mनो भूमिका पनि फराकिलो पार्दै आएका छौं’ अमृतले भने, वालवालिका, शिक्षण संस्था, द्वन्द्वकालीन समाजका लागि समर्पित हुँदै आएका हामीले पछिल्लो समय भने मानवताका पक्षमा आफूलाई उभ्याएका छौं।’ एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर मानवताको लागि संगीत अभियान शुरु भएकोमा अहिले जापानको यात्रा पनि त्यसैको निरन्तरता रहेको उनले स्पष्ट पारे।

कन्सर्ट १६ वटा गीत र दुइवटा म्युजिक भिडियो देखाएर दुई घन्टाभन्दा बढी अवधि चलेको थियो। सधंैझै अन्तिम लहरतिर प्रस्तुत हुने क्रमशः मै नाचे छमछमी, रेशम, तालको पानी हुँदै अन्तिममा रातो र चन्द्र सूर्यसम्म आइपुग्दा हलभरि जताततै दर्शक नृत्य गरिरहेका देखिन्थे। नेपथ्य जापानमा सबैभन्दा पहिला सन् १९९८ मा प्रस्तुत भएको थियो। पछिल्लोपटक भने पाँच वर्षअघि त्यहा“को प्रसिद्ध टोकियो डोममा ब्यान्डले लोकरक सुनाएको थियो। कन्सर्टमा अमृतलाई ध्र्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल) ले सघाएका थिए।

प्रतिक्रिया दिनुहोस्