सुदूरपश्चिममा विपत्, सुरक्षा निकाय जुरुक्कै 



धनगढी।

सुदूरपश्चिममा बर्खासँगै विपत् पनि सुरु भएको छ। लगातारको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटनाहरु घट्न थालेका छन्। सोमबार रातिमात्र कैलालीको गोदावरीमा बाढीले त्यहाँ रहेको पुल क्षेत्रको कटान गर्नुका साथै संरचनामा क्षति पुगाएको छ। त्यहाँ अवस्थित मठ, मन्दिर एवं घरहरुमा बाढी पसेपछि क्षति पुगाएको हो। त्यतिमात्र होइन, गोदावरी नदीमा फसेका १९ जनाको सकुसल उद्धार पनि गरिएको छ। बाढीका कारण नदीमा फसेका ६ जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने स्थानीय युवाको समूहले १४ जनाको उद्धार गरेर सुरक्षित स्थानतर्फ सारेका थिए।

यस्तै वर्षाकै कारण गोदावरी नगरपालिका–४ को बुढितोलामा सडक भाँसिएर राजमार्ग अवरुद्ध भएको छ। अहिलेसम्म पनि अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन। तर अहिले गोदावरीको भ्यागुते पानीको पहिरो पछ्याएर डोजर भाँसिएको सडक मर्मतका लागि गएको छ। बुढितोलामा गएको सो पहिरोका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लासँगको सडक सम्पर्क टुटेको छ।

पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जसका कारण यात्रुहरु समेत अलपत्र परेका छन्। सोही क्रममा त्यहाँ बिहानै राजमार्ग खुलाउनका लागि कैलालीको जिल्लास्थित सुरक्षा समितिको टोली नै गएको थियो। जसमा प्रमुख जिल्ला अधिकारी युवराज कटेल, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, श्री देवीदल गणका गणपति प्रमुख सेनानी रवि केसी, राष्ट्रिय अनुसन्धान विभाग कैलालीका प्रमुख एसपी हरिश विष्ट, सशस्त्र प्रहरीको ३४ नम्बर गणका एसपी रामहरि अधिकारी र कैलाली प्रहरीका प्रमुख देवेन्द्रबहादुर पालसहितको टोलीले त्यहाँ अनुगमन तथा निरीक्षण नै गरेको थियो।

त्यस्तै उनीहरुले त्यहाँ सडक विभागसँग सहकार्य गरेर राजमार्ग खुलाउन निर्देशन दिएका थिए। अहिले पनि सो राजमार्ग खुलाउने काम जारी छ। सडक विभाग र सुरक्षाकर्मीहरु बिहानैदेखि सो अवरोध हटाउन प्रयासरत छन्। राजमार्ग खुलाउन अझै केही समय लाग्ने बताइएको छ।

यस्तै कैलालीको भजनी नगरपालिका–८ मा डुबानमा परेका ६ परिवारलाई प्रहरीले उद्धार गरेको छ। प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले डुबानमा परेकाहरुको आज बिहान उद्धार गरेको हो।

यस्तै अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएको बताइएको छ। धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घरधुरी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ। सो क्षेत्रमा अहिले सुरक्षा संयन्त्रले उद्धारको काम गरिरहेको छ। त्यस्तै कैलालीमै बाढीले नेपाल–भारत सीमा स्तम्भ नै बगाएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले मोहना नदीले धनगढी उपमहानगरपालिका ९ को भैंसीघाटमा रहेको एउटा सीमा स्तम्भ बगाएको जानकारी दिए। नेपाल तर्फको ७४८–३ नम्बरको सीमा स्तम्भ बगाएको जोशीले बताए। त्यस्तै उता कञ्चनपुरमा पनि नदी र खोलामा पानीको सतह बढेपछि जोखिममा परेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणले शुक्लाफाँटा र कृष्णपुरका महिलाको उद्धार गरेको हो। त्यहाँ सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरका गणपति प्रेमबहादुर रावल नेतृत्वको टोली उद्धारमा खटिएको छ।

प्रतिक्रिया दिनुहोस्