दाहसंस्कार गर्न लगिएको महिलाको शव झापा प्रहरीको नियन्त्रणमा 



भद्रपुर। 

झापाको कनकाई घाटमा दाहसंस्कार गर्न लगिएको एक महिलाको शवलाई  झापा प्रहरीले नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय सुरुङगा र बिर्तामोडबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो ३ बजे कनकाई नगरपालिकास्थित माई खोलाको घाटबाट मृत्यु भएकी शिवसताक्षी नगरपालिका–९ घर भई हाल कनकाई नगरपालिका– ३ सुरुङ्गामा डेरा गरी बस्ने ३२ वर्षीय पूजा कोचकारको शवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमान् र जेठी श्रीमतीको कुटपिटबाट कान्छी श्रीमती पूजाको मृत्यु भएको हुनसक्ने आशङ्कामा स्थानीयले प्रहरीमा मौखिक उजुरी दिएपछि उनको शवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पूजाको उपचारका क्रममा सोमबार कञ्चनजङ्घा अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । शवलाई घाटबाटै नियन्त्रणमा लिएर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मौखिक उजुरीको आधारमा शवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए । शवलाई पोस्टमार्टमका लागि पठाएको जानकारी दिँदै घटनाको छानबिन गर्ने उनले उल्लेख गरे ।

माघ १८ गते घरमा अचानक बेहोस भएपछि पूजालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रादेशिक अस्पतालले उनलाई माघ २० गते रेफर गरेपछि थप उपचारका लागि कञ्चनजंगा अस्पताल बिर्तामोड भर्ना गरिएको थियो । यता कञ्चनजङ्घा अस्पताल चिकित्सक प्रमोदकुमार शाहका अनुसार पूजाको लिभरमा समस्या देखा परेपछि परिवारजनले अन्तिम अवस्थामा अस्पतालमा ल्याएको र उपचारको क्रममै मृत्यु भएको बताए ।

 पूजाका श्रीमान् ५० वर्षीय चोपेन्द्र कोचकार घर निर्माण सम्बन्धी ठेक्कापट्टाको काम गर्दै आइरहेका छन् । चोपेन्द्रको दुई वटा श्रीमती मध्ये मृतक पूजा कान्छी श्रीमती हुन् । पूजाको माइती भारतको नागाल्याण्ड भएको भन्ने बुझिएको छ । उनीहरूका १० वर्षको एक जना छोरा छन् । यसअघि श्रीमान् श्रीमतीबीच झैझगडा हुने गरेको भए पनि यस पटक भने बिरामी भएरै उपचारका लागि लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्