लुम्बिनी सरकारको १०० दिन, २ लाख महिला र युवालाई रोजगारी दिने घोषणा



बुटवल। 

लुम्बिनी प्रदेश सरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । स्थानीय सामाग्रीको उत्पादन र त्यसको बजारीकरणबाट मात्रै गाउँ गाउँमा रोजगारी सृजना गर्न सकिने भन्दै चालु आर्थिक वर्षमा दुई लाख व्यक्तिलाई रोजगारी दिने योजना रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । जसका लागि प्रदेश सरकारले डेढ अर्ब बजेट विनियोजन पनि गरिसकेको छ । सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमलाई एउटा रोल मोडेलको रुपमा अघि बढाउन थालिएको जनाएको छ । जसमा महिला र युवालाई विशेष प्राथमिकतामा राखेर रोजगारीका अवसरहरु सृजना गरिने छ ।

गत वैशाख १५ गते लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको थियो । सरकार गठन भएको एक सय एक दिन पुगेको सन्दर्भमा उपलब्धि सार्वजनिक गरिएको छ । जसमा कानुन निर्माण तर्फ निजामती कर्मचारी विधेयक संसदमा दर्ता गरेकोदेखि भौतिक पूर्वाधार तर्फ भएका प्रगतीहरु रहेका छन् । यो सय दिनमा एक सय ७५ किलोमिटर सडक कालोपत्रे भएको, एक सय ५० किलोमिटर सडक ग्राभेल गरिएको, १५ वटा पक्की सडक सम्पन्न भएको योजना सार्वजनिक गरिएको हो । प्रदेश सरकार लयमा हिडिरहेको र जनताको दैनिक समस्याहरु समाधान गर्ने गरी काम भइरहेको गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए  ।

लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन पुरा भएपनि सरकारले अझैँ पूर्णता पाउन सकिरहेको छैन । मन्त्रालय फुटाएर भएपनि सरकारलाई पूर्णता दिने खबरहरु सार्वजनिक भइरहँदा सरकारले भने कामको आधारमा मन्त्रालयहरु थप घट हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्