तीन सय ९० घर जग्गाधनीलाई मुआब्जा वितरण

डडेल्धुरा सदरमुकाम क्षेत्रमा सडक फराकिलो हुने 



डडेल्धुरा। 

डडेल्धुरा सदरमुकाममा सडकको क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना र जग्गाको मुआब्जा वितरण गरिएको छ ।
सदरमुकाम बागबजारदेखि कीर्तिपुर बजारसम्म सडक विस्तारका लागि घरजग्गा धनीलाई मुआब्जा वितरण गरिएको हो । यसअघि मुआब्जा नदिएरै सडक विस्तारको योजना अगाडि बढाइएको थियो । तर, सर्वोच्च अदालतले रोकेपछि अहिले सडक क्षेत्रमै पर्ने जग्गा र घरको मुआब्जा बाँडेर सडक विस्तार गर्न थालिएको हो ।

०५८ माघ २१ गते पुनरावेदन अदालत दिपायलले जग्गा प्राप्ति ऐन २०३४ बमोजिम प्रक्रिया पूरा गरेर कानुनबमोजिम निवेदकहरुले पाउने मुअब्जा सार्वजनिक सडक ऐन २०३१ बमोजिम उपलब्ध नगराउन्जेल घर जग्गा खाली गर्न नपाउने फैसला गरेको थियो । सोही फैसलालाई टेक्दै सर्वोच्च अदालतमा रिट दर्ता भएपछि ०७७ मा सडक विस्तारका लागि आह्वान गरिएको टेण्डर रद्द भएको थियो।

हाल सडक क्षेत्रमा पर्ने संरचना र ब्यक्तिको नाममा दर्ता भएको जग्गाको मुआब्जा दिएर सडक विस्तारको योजना अघि बढेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले जनाएको छ । पहिलो चरणमा एक सय छ र दोस्रो चरणमा दुई सय ८४ गरेर कुल तीन सय ९० घर जग्गाधनीलाई मुआब्जा वितरण गरिएको डिभिजन सडक कार्यालय कुलपाते डोटीका डिभिजन प्रमुख दीपककुमार झाले जानकारी दिनुभयो ।

‘पहिलो चरणमा २० करोड र त्यसपछि ३० करोड मुआब्जा वितरणका लागि बजेट आएको थियो,’ डिभिजन प्रमुख झाले भन्नुभयो, ‘केही बजेट अपुग भएको छ । हामीले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग थप बजेट माग गरेका छौं । लगत कट्टी गर्न बाँकी रहेका १२ जना र भुक्तानी लिन अस्वीकृत गरेका तीन जनालाई अझै मुआब्जा वितरण गर्न बाँकी छ ।’

डडेल्धुरा सदरमुकाम क्षेत्र महाकाली राजमार्गमा पर्छ । कैलालीको मोहनापुलदेखि दार्चुला सम्मको महाकाली राजमार्गको चौडाई राजपत्रमा फरकफरक छ । कैलालीदेखि डडेल्धुराको बसपार्कसम्म ५० मिटर र डडेल्धुरा बसपार्कदेखि दार्चुलासम्म ३० मिटर राजमार्गको चौडाई रहेको राजपत्रमा उल्लेख छ ।
डडेल्धुरा सदरमुकाम क्षेत्रमा सडकको चौडाई ३० मिटर हुनुपर्नेमा पाँच मिटर चौडा सडक रहेको छ । सडक साँघुरो हुँदा यातायातका साधनहरु जाममा पर्ने गरेका छन । यसअघि डडेल्धुरा सदरमुकामस्थित अमरगढी नगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने जग्गामा घर निर्माणका लागि नक्सा पास गर्ने गरेको थियो ।
हाल मुआब्जा वितरण भएपछि  सदरमुकाममा धमाधम भौतिक संरचना भत्काउन थालिएको छ । सडक डिभिजन कार्यालय कुलपाते डोटीले सडक स्तरोन्नतीका लागि टेण्डर आह्वान गर्ने तयारी गरिरहेको जनाएको छ । ‘बागबजारदेखि कीर्तिपुर सम्मको सडक ३० मिटर कालोपत्रे गर्नका लागि ९० करोड बजेट मागेका छौं,’ डिभिजन प्रमुख झाले भन्नुभयो,‘बजेटको अख्तियारी प्राप्त हुनासाथ टेण्डर आह्वान गर्ने तयारी गरिरहेका छौ ।’

मुआब्जा पाएर भौतिक संरचना पनि भत्काउन थालिएपछि डडेल्धुरा सदरमकाुमको सडक फराकिलो हुने विश्वास बढेको छ । ‘सुदूरपश्चिमका सात पहाडी जिल्लाको केन्द्रबिन्दुका रुपमा रहेको डडेल्धुरा सदरमुकाममा साँघुरो सडकले आवतजावतमा सास्ती हुने गरेको छ,’ स्थानीय बिरबहादुर ऐरले भन्नुभयो,‘साँघुरो सडकमा अव्यवस्थित बजारीकरण र यातयातका साधनको चापले निकै समस्या थियो । मुआब्जा दिएर घर भत्किन थालेपछि अब भने सडक फराकिलो हुने विश्वास लागेको छ ।’

डडेल्धुरा सदरमुकामको सडक कालोपत्रे भएको २५ वर्षपछि सडक स्तरोन्नतिको योजना अगाडि बढेको हो । ०२९ सालमा पहिलो पटक डडेल्धुरा सदरमुकाममा गाडी पुगे पनि महाकाली राजमार्ग अन्तर्गत डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक भने ०५५ सालमा कालोपत्रे भएको थियो । कालोपत्रे भएको लामो समयसम्म नियमित मर्मत सम्भारको अभावमा महाकाली राजमार्ग जीर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्