कैदीवन्दी सरुवाको विषयलाई लिएर झापा कारागारमा आगजनी



भद्रपुर। 

चन्द्रगढीस्थित झापा कारागारका कैदीबन्दीहरु आन्दोलित भएका छन् । उनीहरुले कारागारभित्र आगजनी गरेका छन् । कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कैदीबन्दीहरुले कारागारभित्र आगो वालेर ढुङ्गामुढा गरेका थिए । उनीहरुले आन्तरिक प्रशासन जिन्दाबाद, जेलर मोहन प्रसाद पनेरु मूर्दाबाद, कैदीवन्दी एक हौँ, हाम्रो मान्छे फिर्ता गर लगायतका नारावाजी गरेका थिए । कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको थियो  । उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत गरेका थिए ।

पुरुषतर्फका कैदीबन्दीहरु उत्तेजित बन्दै कारागारको पर्खाल र भवनको छतमा चढेर भाग्न खोज्दा प्रहरीले सात राउन्ड गोली र ५ राउन्ड टेयर ग्यास हवाई फाइरिङ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

शुक्रबार करिव एक बजेदेखि आन्दोलन सुरु भएको थियो । भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउनका लागि गेट बाहिर नै तैनाथ थिए । सशस्त्र र नेपाल प्रहरीको ठूलो सङ्ख्या कारागार बाहिर तैनाथ गरिएको थियो । अपरान्ह ४ बजे तिर आन्दोलन मत्थर भएको थियो ।

कर्तब्य ज्याद मुद्दामा सजाय भोगिरहेका कैदी लावतीलाइ सुरक्षाको विषयलाई लिएर विहीबार  कारागार प्रशासन विभागले  सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णय गरेको थियो । सरुवाको पक्ष विपक्षमा कारागारका कैदीवन्दीबीच झडप भएको बताइएको छ ।

कैदी लावतीलाई तत्काल सरुवा नगर्ने र कारागार विभागको निर्देशनअनुसार गर्ने सहमति भएको  प्रवक्ता डीएसपी रिजालले बताए । कैदीबन्दीले सामान्य ढुङ्गा हानेको र मुढा बनाउन कारागारभित्र लगिएका टायर बालेको बताए । त्यसबाट खासै क्षति नभएको उनले जानकारी दिए ।

विभागले पठाएको पत्रका आधारमा कैदी लावतीलाइ बाहिर निकाल्ने बित्तिकै कारागारभित्र होहल्ला र आन्दोलन सुरु भएको जेलर पनेरुले बताए । समस्याको समाधानका लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित सुरक्षा निकायसँग समन्वय गरिएको उनले जानकारी दिए । कैदीवन्दीको विषयलाई लिएर उत्पन्न भएको समस्या तत्कालका लागि समाधान भएको प्रजिअ पोखरेलले बताए ।

 विभागको नीति अनुसार सरुवाका लागि लैजाने क्रममा अवरोध उत्पन्न भइ थप घट्ना हुनसक्ने तथा कैदी भाग्न सक्ने विषयलाई ध्यानमा राखी पुनः कैदी लावतीलाइ भित्र पठाइएको उनले जनाए । भित्र रहेका वन्दीहरुलाइ सवैसँग समान व्यवहार गरी कुनैपनि घट्ना नहुने सहमती भएको उनले बताए । कैदी लावतीको अव केही वर्ष सजाय भोग्न बाँकी रहेको र हाल उनी सहायक चौकीदार रहेको बुझिएको छ । चौकीदार लय सिवाकोटीलाइ हटाएर कैदी लावतीलाइ प्रमुख वनाउने चलखेलका कारण आन्दोलन गरिएको जनाइएको छ ।

 हाल कारागार झापामा १४ सय ६० कैदीवन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्