विषादी धेरै भएपछि भारतबाट आयातित आँपलाई रोक 



भद्रपुर। 

उपभोक्ता जागरण अभियान झापाले विषादीको मात्रा धेरै पाइएको भारतबाट आयातित एक गाडी आँपलाई  नेपाल भित्रिनबाट रोकेको छ ।
मेचीनगरको एक सप्लायर्स (इन्भोइस नं. ५९० र ५९१)ले उक्त आँप आयात गरेको थियो । आँपको चार वटा नमुना काँकडभिट्टास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय (खाद्य प्रयोगशाला)मा विषादी अवशेष परीक्षण गर्दा तत्काल उपभोग गर्न अयोग्य भएको ठहर भएको थियो ।

 खाद्य परीक्षणको रिपोर्ट अनुसार उक्त आँपलाई कम्तीमा एक दिन क्वारेन्टाइनमा राखेपछि पुनः जाँच्दा खान योग्य ठहरिएमा मात्र भन्सार जाँचपास गर्न सकिने उल्लेख थियो । तर, प्रयोगशालाको उक्त रिपोर्ट भन्सार कार्यालयमा नपुगेका कारण आयातकर्ताले अन्य फलफूलसँगै आँपलाई पनि नेपाल भित्राउने प्रयास गरिरहेको बेला उपभोक्ता जागरण अभियानको टोलीले प्रयोगशाला र मेची भन्सार कार्यालयमा पुगी सो कुराको खबरदारी गरेर खान अयोग्य आँपको जाँचपास रोक्न लगाएको हो ।

अभियानका झापा अध्यक्ष मोहन काजी, उपाध्यक्ष नीलकण्ठ तिवारी, सचिव विशाल थापा सहितको टोली खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय (खाद्य प्रयोगशाला) र मेची भन्सार कार्यालय पुगेका थिए । प्रयोगशालाका प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती र भन्सार कार्यालयका निमित्त प्रमुख पूर्णप्रसाद लामिछानेसँग टोलीले विषादीको अवशेष परीक्षणबाट खानयोग्य नठरिएसम्म कुनै पनि तरकारी तथा फलफूल नेपाल भित्राउन नदिन माग गरेको छ ।

मेची भन्सारका निमित्त प्रमुख लामिछानेले उपभोक्ता जागरण अभियानको खबरदारीलाई सकारात्मक रुपमा लिँदै आँप आयातकर्तालाई बोलाएर विषादी अवशेष जाँच गर्दा आएको रिपोर्ट बारेमा जानकारी गराएका थिए । उनले आँप बोकेको गाडीलाई भन्सार जाँचपास नगरिने बताए । प्रयोगशालाका खाद्य अनुसन्धान अधिकृत ओस्तीले इनभोइस नं. ५९० र ५९१ बाट आँप, भुइँकटहर, खरबुजा र अनारको चार वटा नमुना जाँच गर्दा आँपको नमुनाहरुमा विषादीको अवशेष अधिकतम् ४१ प्रतिशतसम्म पाइएको बताए ।

उनका अनुसार ३५ प्रतिशतदेखि माथि विषादीको अवशेष फेला परेमा उपभोगका लागि तत्काल अयोग्य हुने र त्यसलाई एक दिन क्वारेन्टाइनमा राखेपछि पुनः विषादी अवशेष जाँचिनु पर्ने प्रावधान रहेको छ । तरकारी तथा फलफूलमा विषादीको अवशेष ४५ प्रतिशतभन्दा माथि देखिएमा उपभोग अयोग्य ठहर गरिने र त्यस्ता सामानलाई जफत गरी नष्ट गरिने प्रावधान रहेको छ । प्रयोगशालाबाट प्राप्त विवरण अनुसार भारतबाट आयातित अनारमा २५ देखि २८ प्रतिशतसम्म, खरबुजामा ४ देखि ६ प्रतिशतसम्म र अनारसमा एक देखि ४ प्रतिशतसम्म विषादीको अवशेष पाइएको छ ।

विषादीको अवशेष नजाँची र खान योग्य नठहर्‍याई कुनै पनि किसिमका तरकारी तथा फलफूल भारतबाट आयात गर्न नदिन उपभोक्ता जागरण अभियान झापाले मेची भन्सार कार्यालय र खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय (प्रयोगशाला)लाई विशेष आग्रह गरेको छ । विषादीको अवशेष अत्यधिक रहेको तरकारी तथा फलफूलको उपभोगबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सजग रहन र आवश्यक खबरदारी गर्न अभियानले समस्त उपभोक्ताहरुलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्