आर्सेनल र रियलको जित



लन्डन, (एजेन्सी) । प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सेनल र स्पेनिस ला लिगा क्लब रियल मेड्रिडले जितको नतिजा निकालेको छ ।

बुधबार राति भएको खेलमा आर्सेनलले बार्सिलोनालाई ५–३ गोलअन्तरले हराएको हो । खेलमा अग्रता लिएपनि बार्सिलोना दोस्रो हाफमा कमजोर हुँदा पराजित भएको हो । पहिलो हाफ २–२ को बराबरीमा सकिएपछि दोस्रो हाफका लागि बार्सिलोनाले सुरुवाती रोजाइका सबै खेलाडी परिवर्तन गरेको थियो । त्यसपछि आर्सेनलले तीन गोल गर्दा बार्सिलोनाले एक गोल मात्र गर्न सक्यो । खेलको सातौं मिनेटमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाए । गोलरक्षक आरोन राम्सडेलले बचाउ गरेर फर्किएको बललाई लेवान्डोस्कीले गोलमा परिणत गरेका थिए ।

खेलको १३औं मिनेटमा आर्सेनल बुकायो साकाको गोलसँगै बराबरीमा फर्कियो । पेनाल्टी क्षेत्रभित्र डिफेन्सले गरेको गल्तीमा उनले वन भर्सेस वनको स्थितिबाट गोल गरेका थिए । तर, त्यसपछि प्राप्त पेनाल्टीमा भने उनले गोल गर्न सकेनन् । ३४औं मिनेटमा ब्राजिलियन राफिन्हाले बार्सिलोनालाई अघि बढाए । उनको फ्रिकिक वालमा लाग्दा गोलरक्षक राम्सडेल झुक्किएपछि गोल भएको थियो । आर्सनलका लागि काइ हाभर्ट्जले पहिलो हाफको दुई मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरी गरे । उनले ६ यार्ड डीबक्स भित्रबाट बललाई पोस्टको दिशा दिएका थिए । लिआन्द्रो ट्रोसार्डके ५५औं मिनेटमा आर्सेनललाई अघि बढाए । काउन्टर अट्याकमा उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक इनाकी पेना बिट भएका थिए ।

त्यसैगरी ट्रोसार्डले ७८औं मिनेटमा अग्रता दोब्बर पारे । किएरन टिएर्नीको क्रसमा पहिलो टचमा फिनिस गर्दै उनले आर्सेनललाई ४–२ ले अघि बढाए । ८८औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले गोल गरेपनि त्यसको एक मिनेट पछि नै फाबिओ भिएराले आर्सेनलका लागि अर्को गोल थपे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरे । बार्सिलोनाले अब प्रि सिजनमा रियल मेड्रिडसँग जुलाई ३०, एसी मिलानसँग जुलाई २ र टोटेनहमसँग अगस्ट ८ मा खेल्नेछ । आर्सेनलले भने अगस्ट २ मा मोनाकोसँग खेलेपछि अगस्ट ६ मा कम्युनिटी सिल्डका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी स्पेनिस क्लब रियल मेड्रिडले पनि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित ग¥यो । यसै सिजन अनुबन्धित भएका मिडफिल्डर जुड बेलिङघम र फरवार्ड जोसेलुले गोल गरेपछि रियलले २–० को जित निकालेको हो । रियलले दुवै हाफमा १–१ गोल गरेको थियो । खेलको छैटौं मिनेटमा नै बेलिङघमले रियललाई अघि बढाएका थिए । उनले एन्टोनियो रुडीगरले डिफेन्सबाट खेलेको लामो पासलाई नियन्त्रण गर्दै दोस्रो टचमा फिनिस गरे । अफसाइड ट्रयाप बिट गरेपछि उनले अघि बढेका गोलरक्षक आन्द्रे ओनानाको माथिबाट गोल गरेका थिए ।

खेलको अन्त्यतिर जोसेलुले दर्शनीय गोल गर्दै अग्रता दोब्बर पारे । बायाँ विंगबाट लुकास भाज्केजले दिएको क्रसलाई उनले ओभरहेड किकमार्फत गोलमा परिणत गरे । रियलले यसअघि मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३–२ ले हराएको थियो । अब क्लबले जुलाई ३० मा बार्सिलोना र अगस्ट ३ मा युभेन्टससँग खेल्नेछ । यता म्यानचेस्टर युनाइटेडले भने बोरूसिया डर्टमुन्डसँग जुलाई ३१, लेन्ससँग अगस्ट ५ र एथ्लेटिक बिल्बाओसँग अगस्ट ६ मा खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्