पोर्चुगलको ऐतिहासिक जित



लन्डन, (एजेन्सी) । पोर्चुगलले फिफा महिला विश्वकपमा ऐतिहासिक जित निकालेको छ ।

न्यूजिल्यान्डको वाइकाटोस्थित एफएमजी रंगशालामा बिहीबार सम्पन्न खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलअन्तरले पराजित गरेको हो । पोर्चुगलको महिला विश्वकपमा यो पहिलो जित हो । दुवै टोली पहिलो पटक विश्वकप खेलिरहेका छन् । जितसँगै दुई खेलमा तीन अंक जोडेको पोर्चुगलले समूह ‘इ’ बाट अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको भियतनाम भने समूह चरणबाटै बाहिरिएको छ ।

पोर्चुगललाई जित दिलाउन तेल्मा इनकार्नाकाओ र फ्रान्सिस्का नाजारेथले समान एक गोल गरे । खेलको सातौं मिनेटमा इनकार्नाकाओको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । २१औं मिनेटमा नाजारेथले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसपछि थाप गोल निस्कन नसक्दा पोर्चुगल २–० ले विजयी भयो । पहिलो खेलमा पोर्चुगल नेदरल्यान्ड्ससँग १–० र भियतनाम अमेरिकासँग ३–० ले पराजित भएका थिए ।

अमेरिका रोकियो

प्रतियोगिता अन्तर्गत बिहीबार नै सम्पन्न खेलमा नेदरल्यान्ड्स र अमेरिकाले भने १–१ गोलको बराबरी खेल्दै समान अंक बाँडेका छन् । कप्तान लिन्ड्जी होरानको गोल प्रेरित साविक विजेता अमेरिकाले नेदरल्यान्ड्सँगको सम्भावित हार टारेको हो । बराबरीपछि अमेरिका समूह ‘इ’ को शीर्ष स्थानमा यथावत छ ।

अमेरिका र नेदरल्यान्ड्स दुवैको समान चार अंक भएको छ । दुवैको नकआउट चरणमा जाने सम्भावना बलियो भएको हो । पहिलो खेलमा अमेरिकाले भियतनामलाई ३–० र नेदरल्यान्ड्सले पोर्चुगललाई १–० ले हराएको थियो ।

न्यूजिल्यान्डको विलिङटन रंगशालामा भएको उक्त खेलमा नेदरल्यान्ड्सले सुरुआती अग्रता बनाएको थियो । यो अग्रतासँगै नेदरल्यान्ड्स सन् २०१९ विश्वकप फाइनलमा बेहोरेको हारको बदला लिने तयारीमा थियो । म्यानचेस्टर सिटीमा आवद्ध जिल रुर्डको गोलमा डच टोलीले अग्रता बनाएको थियो । पेलोभाको पासमा रुर्डले १७औं मिनेटमा गोल गरेकी हुन् ।

पहिलो हाफमा १–० ले पछि परेपछि दवावमा आएको अमेरिकाले ६२औं मिनेटमा बराबरी गोल फर्कायो । लाभेलीको कर्नरमा होरानले हेड गोल गरिन् । सन् २०१९ फाइनलमा नेदरल्यान्ड्स अमेरिकासँग २–० ले पराजित भएको थियो । खेलमा दुवै टोलीले केही अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । अब समूहको अन्तिम खेलमा अमेरिकाले पोर्चुगल तथा नेदरल्यान्ड्सले भियतनामको सामना गर्नेछन् ।

नाइजेरियाको पुनरागमन जित

त्यसैगरी नाइजेरियाले फिफा महिला विश्वकप फुटबलमा सह आयोजक अष्ट्रेलियामाथि पूनरागमन जित निकालेको छ । नाइजेरियाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली अष्ट्रेलियामाथि ३–२ को सानदार जित निकालेको हो । नाइजेरियाको पुनरागमन जितमा उचेना कानु, ओसिनाची ओहाले र एसीसाट ओसोएलाले गोल गरिन् ।

अष्ट्रेलियाका इमिली भान एगमोन्ड र एलाना केनिडीले गोल फर्काइन् । अष्ट्रेलियाको ब्रिसवनस्थित ब्रिसवन स्टेडियममा बिहीबार भएको प्रतिस्पर्धात्मक बनेको खेलमा गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इमिली भान एगमोन्डले गोल गर्दै घरेलु टोली अष्ट्रेलियालाई १–० को अग्रता दिलाइन् । उनले केइटलिन फुर्डको पासमा गोल गर्न सफल भएकी थिइन् । तर, त्यो अग्रतालाई अष्ट्रेलियाले जोगाउन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा उचेना कानुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । ६५औं मिनेटमा ओसिनाची ओहालेले गोल गर्दै नाइजेरियालाई खेलमा २–१ को अग्रता दिलाइन् । उनले एजीवाडेको पासमा गोल गर्न सफल भइन् ।

खेलको ७२औं मिनेटमा एसीसाट ओसोएलाले गोल गर्दै नाइजेरियालाई ३–१ को सानदार जित दिलाइन् । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा एलाना केनिडीले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याएपनि थप गोल गर्न नसक्दा नतिजा पनि सुम्पन पुग्यो ।

यस जितसँगै नाइजेरिया समूह ‘बी’ मा दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान चार अंक नै भएपनि क्यानडा गोल अन्तरमा दोस्रो स्थानमा छ । पराजित अष्ट्रेलिया दुई खेलबाट तीन अंक जोडेर तेस्रो स्थानमा छ । आयरल्यान्ड अंकविहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्