शरदलाई जिताउन पनौती नगरपालिकाको आह्वान



काभ्रे । गायन विधाका प्रतिभा रियालिटी शो मेरो भ्वाइस युनिभर्सको प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्लास्थित पनौती नगरपालिकाका युवा शरद हुमागाईंलाई विजयी गराउन पनौती नगरपालिकाले संस्थागतरुपमै आह्वान गरेको छ।

बिहीबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका तर्फबाट हुमागाईंलाई विजयी बनाउन आह्वान गरिएको हो। शरद पनौती नगरपालिकाका मात्रै होइन, जिल्ला र प्रदेशबाट प्रतिनिधित्व गर्ने एकमात्र युवा हुन्ु, कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले भने विश्व सम्पदा सूचीमा सूचीकृत हुन प्रस्तावित गरिएको नगरपालिकालाई विश्वभर चिनाउने अभियानमा शरदले सफलता प्राप्त गर्नु आवश्यक छ। त्यस्तै, उपप्रमुख गीता बञ्जाराले नगरपालिकाको गौरवका रुपमा शरदले प्रस्तुत गरेको भ्वाइसले अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल चिनाउने भएकाले उनको विजयी यात्रामा सहयात्री बनिदिन अनुरोध गरेकी छन्। वडाध्यक्ष पुरुषोतम अधिकारीले पनौती २ घर भएका शरदको बाल्यकालका बारेमा चर्चा गर्दै अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी भई प्रतिस्पर्धाको सातांै स्थानमा आएर शरदले जिल्लाकै गौरव बढाएको बताए।

शरदको आमा विनीता हुमागाईंले सानैदेखि संगीतप्रति रुचि राखे पनि कतै संगीत सिक्न नपाएको छोराको प्रतिस्पर्धाले हौसला मिलेको बताइन्। कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना र निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले शरदको विजयी यात्रालाई सहज बनाउन अनुरोध गरे।
इन्टरनेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाद्वारा आयोजित रियालिटी शोमा ५२ देशका प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। त्यसमध्येका २० वर्षीय शरदले काभ्रेको पनौतीस्थित कुशादेवीमा जन्मिएर सोही स्थानमा रहेको लीलावती नेसनल एकेडेमीबाट औपचारिक शिक्षा प्रारम्भ गरेका थिए। कक्षा १० अध्ययन गर्दा गर्दै बाबु ध्रुवप्रसाद हुमागाईंको दुर्घटनामा निधन भएकाले उनको शिक्षाका लागि आमा विनीता र दुई दिदीबहिनीले संरक्षण गरेका थिए। निस्ट कलेज बनेपामा बीसीए पाचौं सेमेस्टर अध्ययन गरिरहेका शरद विद्यालय र कलेजका उत्कृष्ट विद्यार्थी हुन्। उनी निरन्तरको रियाजबाट प्रतिस्पर्धाका लागि अन्तिम सातौं प्रतिस्पर्धीभित्र पर्न सफल भएका छन्।
शोको पुरस्कार राशी नेपालमा सञ्चालित शोमध्येकै सर्वाधिक धेरै १ करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्